बलिउड गायिकाको प्रस्तुतिले हंगामा ठमेल, तीन जना पक्राउ

काठमाडौं,बलिउड गायिका नेहा कक्करको प्रस्तुति चल्दै गर्दा राजधानीको ठमेलमा गएराति तनाव भएको छ । आयोजकले क्षमता भन्दा बढी टिकट विक्रि गरेपछि दर्शकले विवाद गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले कार्यक्रमस्थल लड अफ ड्रिंस क्लबमा क्षमता भन्दा बढी टिकट वितरण हुँदा अवस्था असहज भएपछि तीन जनालाई नियन्त्रणमा लिइएको रातोपाटीलाई जानकारी दिए ।

पक्राउ पर्नेमा कार्यक्रमका आयोजक दीपक घिमिरे तथा लर्ड क्लबका सञ्चालक भुपेन गिरि र अर्का एक जना संचालक रहेका छन् । उनीहरुलाई सोह्रखुट्टे बृत्तमा थुनामा राखिएको जनाइएको छ ।

गायिका नेहा आफ्नो प्रस्तुति दिनका लागि पहिलो पटक काठमाडौंका आएकी थिइन् । २५ सय दर्शक क्षमताको लर्ड अफ ड्रिङ्क्समा आयोजकले क्षमता भन्दा धेरै टिकट वितरण गरेको प्रहरी भनाई छ ।

‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्करले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेकी थिइन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्करलाई काठमाडौंमा प्रस्तुत गरेको हो।