बजेटबारे संसदमा अर्थमन्त्रीको जवाफ

बजेट कतै अल्मलिएको छैन

काठमाडौँ,अर्थमन्त्री युवराज खतिवडाले संघीयता कार्यान्वयन गर्नतर्फ केन्द्रीत भएर बजेट आएको बताएका छन् । अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिदै बजेट अल्मलिएको र छरिएको भन्ने सांसदहरुको भनाई आलोचनाका लागि मात्रै भएको पनि बताए ।

उनले बजेटका सिद्धान्त र प्राथमिकताबारे यसअघि छलफल भएर त्यसैका आधारमा बजेट बनाइएको भन्दै संविधानको मार्गदर्शन अनुसार नै बजेट बनाइएको दावी गरे । ‘खासगरी बजेट निर्माण गरिरहँदा मार्गदर्शन गर्ने संविधानका राज्यका सिद्धान्तहरु, त्यहाँ भएका नागरिकका मौलिक हकका कुराहरु, सार्वजनिक निजी वा सहकारी तीनवटै विकासका खम्बाहरुलाई कसरी परिपूरकका रुपमा विकास गर्ने भन्नेमा स्पष्ट भएको र सरकारका नीति तथा कार्यक्रमका आधारमा बजेट आएको हो’ अर्थमन्त्री खतिवडाले भने, ‘त्यसो हुनाले बजेट अल्मलिने कुनै प्रश्नै छैन । यसको स्पष्ट दिशा छ ।’

संविधानको प्रस्तावनाले भने अनुसार नै बजेटले बाटो पक्डेको भन्दै उनले समाजवादतर्फ जाने विषयमा एक बर्षको मात्रै बजेट भएकाले पर्याप्त हुन नसकेको बताए । यद्यपि उनले समाजवादतर्फको खुड्किलोको कुरा भएपनि गन्तव्य नबिर्सिएको दावी गरे । उनले बजेट अल्मलिएको र छरपष्ट भयो भन्नु आलोचनाको विषयमात्रै भएको भन्दै अर्थमन्त्री खतिवडाले बजेटमार्फत वित्तीय संघीयता कार्यन्वयनमा आएको दावी गरे ।

पुँजीगत खर्च लक्ष्य अनुसार खर्च गर्न नसक्नु इतिहास भएको भन्दै उनले पुँजीगत खर्च अहिलेसम्म बढीमा ९० प्रतिशत सम्म भएको बताए । उनले यो खर्च सत प्रतिशत खर्च असम्भव भएको दावी समेत गरे । उनले ९० प्रतिशत भन्दा माथि पुँजीगत खर्च गर्न सके लक्ष्य पुरा हुने बताए ।