भारतमा लोकसभा चुनाव : फेरि मोदीकै दल भाजपाको उदय

काठमाडौं ,भारतमा फेरि नरेन्द्र मोदीकै दल भारतीय जनता पार्टीको उदय भएको छ। १७ औँ लोकसभा अर्थात् तल्लो सदनकाको निर्वाचन परिणाम अनुसार मोदीको दलको पुनः उदय भएको हो।

बिहीवार बिहान स्थानीय समयानुसार ८ बजेदेखि सुरु भएको मतगणना अनुसार अहिलेसम्म मोदीको दलले ३४४ स्थानमा विजय हात पारेको छ। एप्रिल ११ देखि मे १९ सम्म लोकसभाको कुल ५४२ स्थानका लागि सात चरणमा चुनाव भएको थियो।

यो समाचार तयार पार्दासम्म मोदीको दल भाजपाले ३४४, कांग्रेस आईले ८८ र अन्य गठबन्धनले ११० स्थानमा अग्रता हात पारेका छन्। सन् २०१४ को चुनावमा माेदीकाे दल भाजपाले २८२ सिट जितेको थियो ।

भाजपाले कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएका उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान जस्ता केही राज्यमा पनि भाजपाले नै अग्रता कायम गरेको छ। यो मत परिणामले भारतमा नरेन्द्र मोदी फेरि प्रधानमन्त्री हुने निश्चित भएको छ।

पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४३ स्थानका लागि चुनाव भएको थियो। दुई स्थान राष्ट्रपतिले चयन गर्ने भारतीय संवैधानिक प्रावधान छ।

लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो। भारतीय निर्वाचन आयोगले मतदानको सम्पूर्ण परिणाम आजै सार्वजनिक गर्ने तयारी गरेको छ।