सहजै दोस्रो कार्यकाल जित्ने मार्गमा नरेन्द्र मोदी

भारतमा फेरि मोदी सरकार दोहोरिने पक्का

एजेन्सी,अहिले भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ । सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने देखिएको छ । त्यस्तै भाजपा नेतृत्वको ‘एनडीए’ गठबन्धनले सहजै ३०० भन्दा बढी सिट ल्याउने देखिएको छ ।
सुरुवाती मतगणना परिणाम निर्वाचन लगतै जारी गरिएको मत सर्वेक्षण अनुरुप नै देखिन्छ ।

भाजपाले दक्षिणका केही राज्यबाहेक सबै ठूला राज्यमा राम्रो प्रदर्शन गरेको छ । केही महिना अघि भएको विधानसभा निर्वाचनमा कंग्रेसले हराएका तीन राज्यमा पनि भाजपाले यसपटक राम्रो मत ल्याएको छ ।

राजस्थान, छत्तीसढ र मध्य प्रदेशमा भाजपाले सन् २०१४ मा राम्रो प्रदर्शन गरेका थियो । तर डिसेम्बरमा भएको विधानसभा निर्वाचनमा कांग्रेससँग हारेको भाजपाले त्यहाँ पुनः जित हासिल गरेको छ ।

हालसम्मको अवस्थामा छत्तीसगढका ११ सिटमध्य ९ सिटमा भाजपाको अग्रता छ । त्यस्तै राजस्थानको २५ सिटमध्य १ बाहेक सबै सिटमा भाजपा अगाडि देखिन्छ । ती दुई राज्यको तुलनामा बढी सिट रहेको मध्य प्रदेशमा पनि २९ मध्य २८मा भाजपाको मतसंख्या बढी छ ।

भाजपाले यी तीन राज्यका अतिरिक्त विहार, उत्तर प्रदेश, दिल्ली, गुजरातजस्ता हिन्दी भाषी प्रदेशमा राम्रो गरेको छ । भाजपाको उलेख्य अग्रतामा हिन्दी भाषी प्रदेशहरुको सबैभन्दा ठूलो योगदान देखिन्छ ।

विहार

लोकसभा चुनावको लागि भनेर विहारमा भाजपाले त्यहाँको मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल(युनाइटेड)सँग गठबन्धन गरेको थियो । हाल आएर यो गठबन्धन निक्कै सफल सावित भएको छ । विहारबाट केन्द्रीय संसदमा ४० जना प्रतिनिधि छानिन्छन् ।

ती मध्य ३८ सांसद भाजपा र जनता दल(युनाइटेड)को गठबन्धनबाट छानिने सम्भावना देखिएको छ । लालु प्रसाद यादवको राष्ट्रिय जनता दल र कांगे्रसको गठबन्धनले जम्मा २ सिट जित्ने अवस्थामा छ ।

दिल्ली

राजधानी दिल्लीमा ७ मध्य ७ वटै सिटमा भाजपाको जित हासिल गर्ने लगभग पक्का देखिएको छ । मत सर्वेक्षणले पनि यही परिणाम आकंलन गरेको थियो ।

राजधानी दिल्लीको हैसियत हाल अर्ध–राज्यको मात्र छ । त्यसलाई पूर्ण राज्यको स्तर स्तोरोन्नती गर्नुपर्ने माग राखेर दिल्लीमा सरकार बनाएको आम आद्मी पार्टी समेतले कुनै पनि सिट नजित्ने अवस्था निम्तिएको छ ।

उत्तर प्रदेश

उत्तर प्रदेश भारतको संसदीय चुनावमा सबै बढी सिट भएको राज्य हो । यस राज्यबाट ७१ सांसद चुनिन्छन् ।

अघिल्लो निर्वाचनको तुलनामा उत्तर प्रदेशमा भाजपाको सिटमा कमी आउने देखिएको छ । चुनाव अघि सो राज्यमा पकड भएका समाजवादी र बहुजन समाज पार्टीले गठबन्धन बनाएकाले भाजपाको सिट काटिएको हो ।

‘महागठबन्धन’ नाम दिइएको उक्त गठबन्धनको बलियो प्रतिस्पर्धाको बावजुद भाजपाले ५७ स्थानमा अग्रता लिइरहेको छ । महागठबन्धनले २२ सिट ल्याउने मार्गमा छ भने कंग्रेस जम्मा एउटा क्षेत्रमा मात्र अघि छ ।

उत्तर–पूर्वी राज्यमा पनि भाजपा अघि

उत्तर–पूर्वी राज्यमा पनि भाजपाले सिट संख्या सुधार गर्ने मार्गमा छ । अरुणाञ्चलका दुई मध्य दुवै सिटमा, उत्तर पूर्वको सबैभन्दा ठूलो संसदीय राज्य आसामका १४ मध्य १० मा ,त्रिपुराको दुवै संसदीय सिटमा भाजपाले अग्रता लिईरहेको छ ।

मनिपुर, मिजोरम र नागाल्याण्ड र मेघालयजस्ता थोरै सिट भएका राज्यमा भने उसले निर्वाचनमा त्यति मेहनत गरेका थिएन र परिणामा पनि उसको पक्षमा देखिन्न । त्यहाँ क्षेत्रीय दल अगाडि छन् ।

बंगालमा प्रभाव विस्तार

चुनाव अघि भाजपाले मेहनत गरेको राज्यमध्य एउटा पश्चिम बंगाल पनि थियो । विगतमा भारतको कम्युनिष्टको आधार क्षेत्र मानिने बंगालमा यस पटक कम्युनिष्टको कुनै पनि सिट नपाउने देखिएको छ ।
सो प्रदेशका ४२ मध्य २३ सिटमा सो राज्यमा सरकार चलाइरहेको त्रिमुल कंग्रेस अगाडि छ । त्यस्तै भाजपा १७ स्थानमा अगाडि रहेर दोस्रो स्थानमा छ । बाँकी दुई सिटमध्य एउटामा कंग्रेस र अर्को स्वतन्त्र उमेद्वार छन् ।

दक्षिण राज्यमा भने कंग्रेस अघि

तर दक्षिणी राज्यमा भने कांग्रेसले अग्रता कायम राखेको छ । केरलाको २० सिटमा १८ मा कंग्रेस अघि बढिरहेको छ । त्यहाँ बाँकी २ सिटमा कम्युनिष्ट पार्टी अघि छ । देशभरीमा कम्युनिष्टको अग्रता रहेको सिट यहीँ मात्र हो ।

त्यस्तै तमिल नाडुमा डीएमकेसँगको कांग्रेस गठबन्धन उपयोगी सावित भएको छ । त्यस गठबन्धनले ३८ मध्य ३४ सिटमा अग्रता हासिल गरेको छ । भाजपाको गठबन्धन जम्मा ४ सिटमा अघि छ ।
तर दक्षिणी राज्यमै पनि करनाटकमा भने भाजपाले राम्रो मत हासिल गरेको छ । त्यहाँको कुल २८ सिटमा २४ स्थानमा भाजपा अघि छ ।

दक्षिणी राज्यबाहेक कंग्रेसको उलेख्य अग्रता हासिल गरेको ठूलो राज्य पञ्जाव हो । त्यहाँका कुल १३ सिटमा ९ मा कांग्रेस अघि छ । त्यहाँ जम्मा ३ सिटमा भाजपा अघि छ ।
तेलंगाना र आन्द्रमा क्षेत्रिय पार्टी अघि

आन्द्र प्रदेशमा भने क्षेत्रिय पार्टीले बलियो पकड कायम रहदाँ भाजपा र कंग्रेस दुवैले कुनै सिटमा नजित्ने देखिएको छ । त्यहाँको २५ सिटमा २४ सिटमा क्षेत्रिय पार्टी वाईएसआर कंग्रेस पार्टीले अग्रता हासिल गरेको छ ।
आन्द्रबाट छुट्टिएर निर्माण भएको तेलगंना राज्यको यो अलग राज्यको रुपमा पहिलो संसदीय निर्वाचन हो । त्यहाँ पनि क्षेत्रिय दल ‘तेलंगाना राष्ट्र समिति’ले ९ स्थानमा अग्रता लिदाँ भाजपा र कंग्रेस क्रमशः ४ र ३ सिटमा अघि छन् ।

समग्रमा भाजपा एक्लै २७४ सिटमा अगाडि छ भने उसको नेतृत्वमा रहेको एनडीए गठबन्धन ३२२ स्थानमा अगाडि छ । यो भारतमा सरकार बनाउन आवश्यक २७२ सिटभन्दा सजहै धेरै हो ।
अन्तिम परिणाम उल्लेखित अग्रताको थोरै कम–बेसी आउने सम्भावना छ ।

भाजपाको विजयको कारण

भाजपाले यस पटकको निर्वाचन मुलत हिन्दूवादी नारामा लडेको देखिन्थ्यो । त्यस्तै भाजपाले चुनाव नजिकिदै गर्दा पाकिस्तान विरोधी भाषणबाजी पनि चर्काएको थियो ।

पाँच वर्ष शासन गरेर निर्वाचनमा होमिएको पार्टी निर्वाचनमा जादाँ आफूले गरेको कामभन्दा अन्य मुद्दामा केन्द्रीत हुदाँ पनि विपक्षी पार्टीले भाजपाको मुद्धालाई ‘काउन्टर’ दिन गरी गतिलो रणनीति अघि सार्न सकेनन् ।

यस पटक प्रमुख प्रतिपक्षी पार्टी कंग्रेसका अध्यक्ष राहुल गान्धीले भाजपालाई बलियो टक्कर दिने आकंलन गरिएको थियो । भाषण कलामा सुधार गरेका र राजनीतिक रुपमा प्रतिभावान बहिनी प्रियकांलाई पद दिएरै निर्वाचनमा सारेको भए पनि त्यो पर्याप्त भएन ।

निर्वाचन अघि केही महत्वपूर्ण राज्यमा गठबन्धन निर्माण नगर्नु उनको सबैभन्दा ठूलो भूल सावित भयो ।

सबैभन्दा धेरै संसदीय सिट भएको उत्तर प्रदेशमा कंग्रेस ‘महागठबन्धन’मा सामेल हुन सकेन । त्यस्तै दिल्लीको आम आद्मी पार्टी र बंगालको त्रिमुल कंग्रेससँग पनि गठबन्धनको लागि प्रयाप्त प्रयास गरेको देखिएन ।