नतिजा नआउँदै प्रचण्डले दिए भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना

भारतीय लोकसभाको अन्तिम नतिजा नआउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । प्रचण्डले सामाजिक सन्जालमार्फत प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स्टाटसमा उल्लेख गरेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना ।

भारतमा जारी लोकसभा निर्वाचनको मतगणनामा ताजा अवस्थामा सत्तारुढ दल भारतीय जनता पार्टीले ३५० सिटमा अग्रता बनाइरहेको छ। उसले सन् २०१४ को निर्वाचनमा ३३६ सिट जितेको थियो ।

त्यहाँको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अहिलेसम्म ८४ सिटमा अग्रता बनाइरहेको छ । भाजपाले उत्तर प्रदेश, बिहार, गुजरात, महाराष्ट्रसहितका अधिकांश राज्यमा बलियो पकड बनाउँदै लगेको छ।