भारतीय एसएसबीको दादागिरी,नेपाली भूमिमा अस्थायी पोस्ट निर्माण

नवलपरासी, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पश्चिम नवलपरासीको सीमामा पर्ने दशगजामा अस्थायी पोस्ट निर्माण गरेको छ । सुस्ता गाउँपालिका–५, बलिनगर सीमामा पर्ने दशगजा क्षेत्रको बीचभागमा पर्नेगरी एसएसबीले अस्थायी पोस्ट निर्माण गरेको हो । कच्ची टहरोमा पोस्ट निर्माण गरेर बसेका एसएसबीले नियमित ‘ड्युटी’ पनि नेपाली भू–भागमा हतियारसहित आएर गर्ने गरेका छन् ।

मंगलबार सीमा क्षेत्र निरीक्षणकाक्रममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेसहित सशस्त्र प्रहरी उपरीक्षक गहार्धन राई र जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टको टोलीले दशगजा क्षेत्र अतिक्रमण गरेर अस्थायी पोस्ट निर्माण गरेको पाएको हो ।

प्रमुख जिल्ला अधिकारी लामिछानेले निरीक्षणकाक्रममा एसएसबीले अन्तर्राष्ट्रिय सीमाको बीचभागमा पर्नेगरी पोस्ट निर्माण गरेको र नियमित चेकजाँच पनि नेपाली भू–भागमा बसेर गर्ने गरेको पाइएको बताए । पश्चिम नवलपरासी भारतको महाराजगन्ज जिल्लाको सीमानासँग जोडिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पोस्टभन्दा एसएसबीका पोस्ट धेरै छन् । २८ किमि दूरी सीमा क्षेत्रमा रहेको छ ।

लामो सीमा क्षेत्रमा गस्ती गर्न सशस्त्र प्रहरीमा जनशक्ति अभाव भएका कारण पनि भारतीयले पटक–पटक दशगजा र सीमा क्षेत्र अतिक्रमण गर्दै आएको छ । सीमा क्षेत्रमा एसएसबीको २५ देखि ३० स्थानमा अस्थायी पोस्ट छन् । सशस्त्र प्रहरीको भने तीनओटा बीओपी ९बोर्डर आउट पोस्ट०मात्र रहेको सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर नम्बर–२६ का उपरीक्षक गहार्धन राईले बताए ।