नेपालले पहिलो पटक नाप्यो सगरमाथाको उचाइ

पहिलो पटक सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली चुचुरोमा पुगेको छ। नापी विभागका अधिकारीहरू बुधबार बिहान तीन बजेतिर सगरमाथाको चुचुरोमा पुगेका हुन्।

सगरमाथाको उचाइ नाप्न जाने टोलीलाई विदाइ गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल। फाइल तस्बिर : प्रधानमन्त्रीको सचिवालय।

विभागका प्रवक्ता दामोदर ढकालका अनुसार उनीहरूले आधा घन्टा चुचुरोमा बसेर आवश्यक डाटा संकलन गरेका छन्। ‘सगरमाथाको उचाइ नाप्न एउटा महत्वपूर्ण काममा सफलता मिलेको छ,’ ढकालले भने,‘डाटा संकलन गरेर टोली अहिले बेस क्याम्पतिर फर्किरहेको छ।

प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की सगरमाथाको उचाइ नाप्न चुचुरोमा पुगेका हुन्।  सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले बेस क्याम्पमा बसेर डाटा संकलनमा सहयोग गरेका छन्।

चुचुरोमा जाने टोलीले आफूसँग एउटा मेसिन पनि लिएका थिए। ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभर (जिएनएसएस) नामको उक्त मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरू संकलन गरेको छ।

सगरमाथा मापनका लागि अमेरिकाको ट्रिम्बल कम्पनीले विशेष खालको जिएनएसएस रिसिभर सहयोग स्वरूप दिएको प्रवक्ता ढकालले जानकारी दिए। सगरमाथामा तापक्रम र आद्रता र गुरूत्वाकर्षणजस्ता मौसमी तथ्यांक पनि संकलन गरिएको छ।

विभागले आउँदो मंसिरसम्म सगरमाथाको उचाइ सार्वजनिक गर्ने योजना बनाएको छ। त्यसका लागि उसले समुन्द्र सतहदेखि उचाइ नाप्ने विधि पनि सुरू गरेको छ। त्यसअनुसार सिरहाको मडारदेखि सोलुखुम्बुको पतालेसम्मको मापन सकिएको छ।

त्रिकोणमतीय समतुलन भनिने यही विधिबाट सगरमाथामा चुचुरोमा पुग्न असम्भव भएकाले जिएनएसएस रिसिभर लिएर टुप्पोमा गइएको हो।

‘भौगोलिक कारणले यो विधिबाट चुचुरोमा पुग्न सकिएन तर सगरमाथाको चुचुरोदेखि ४ वटा नजिकका टाकुरामा हामी मेसिन राख्छौं,’ प्रवक्ता ढकालले भने, ‘त्यहाँ राखिएका मेसिनले दिएका डाटा प्रशोधन गरेर ठ्याक्कै उचाइ पत्ता लगाउँछौं।’

आफ्नै देशमा पर्ने विश्वको सर्वोच्च शिखरको उचाइ विदेशीको मापनमा आधारित थिए। सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ समुन्द्र सतहदेखि ८ हजार ८ सय ४८ मिटर भएको बताएको थियो। सन् १९९९मा अमेरिकी टोलीले सगरमाथा उचाइ बढेर ८ हजार ८ सय ५० मिटर पुगेको देखाएको थियो।

‘२०७२ को भूकम्पपछि सगरमाथाको उचाइ के भयो होला भन्ने आमचासो छ। पहिला सरकारसँग प्रविधि र जनशक्ति थिएन,’ नापी विभागका प्रवक्ता दामोदर ढकालले भने, ‘अहिले हामीसँग प्रविधि र क्षमता भएकाले सगरमाथाको उचाइ नाप्न लागेका हौं।’