पाँचथर हत्याकाण्ड – हत्यारा शंका गरिएका व्यक्ति नै मृत अवस्थामा फेला

प्रहरीले पाँचथर सामूहिक हत्याकाण्डमा संलग्न रहेको आशंका गरेका व्यक्तिको शव घटनास्थलदेखि केही पर अबस्थामा फेला परेको छ।  प्रहरीका अनुसार मिक्लाजुङको वडा नं. ८ मा फेला परेको शव मृतक फियाककै ज्वाइँको भएको पुष्टि भएको हो। शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ। प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको थियो ।

प्रहरीले पाँचथरको मिक्लाजुङ हत्याकाण्डको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालयबाट एसएसपी शरद खत्रीको नेतृत्वको तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पठाएको छ। पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको थियो।

प्रहरी प्रधान कार्यालयका अनुसार फरेन्सिक सहितको टोलीले घेराबन्दी गरिएर राखिएको घटनास्थलको थप अनुसन्धान र प्रमाण संकलन गर्नेछ। यस्तै केन्द्रीय अनुसन्धान ब्युरोका एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको अर्को टोली समेत घटनास्थल पुग्दै छ।

गएराति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको घटनास्थलबाट केही टाढा एक युवाको शव फेला परेको छ। प्रहरीले शवको पहिचान खुल्न नसके पनि घटनासँग जोडिएका व्यक्तिको हुनसक्ने आशंका गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख डीएसपी नरेन्द्र कुँवरले उक्त घटनास्थलतर्फ प्रहरी टोली गइरहेको बताए। उनले पहिलो घटनास्थलमा एसएसपी खत्रीको टोली पुग्नलागेको बताएका छन्। हत्याको कारण भने अझै खुलेको छैन।

प्रहरीले पाँचथर र आसपासका क्षेत्रका प्रहरी इकाइलाई हाई अलर्टमा राखेर अनुसन्धान तथा शंकास्पद व्यक्तिसँग सोधपुछ गरिरहेको केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए।

प्रहरीले घटनामा भागेर ज्यान जोगाएकी बालिका १२ वर्षीया सीता खजुमसँग प्रारम्भिक बयानपछि मनोपरामर्श गरिरहेको छ। उनले मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताएकी छन्।

धनराजको परिवारका पाँच जनाको शव घरभित्रै छ। बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिइन्।

प्रवक्ता पोखरेलका अनुसार १० मिनेट पैदलदूरीमा रहेका ज्वाइँ ससुराको पारिवारिक सदस्यको हत्या भएको हो।

३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको गएराति विभत्स हत्या भएको छ।