बिमल र भरत राष्ट्रिय फुटबल टोलीमा परेनन्,यसरी भयो टिमको घोषणा

मलेसिया र चाइनिज तेइपेइसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । प्रशिक्षक योहान कालिनले सोमबार घोषणा गरेको टोलीमा राष्ट्रिय टोलीका फरवार्डद्वय विमल घर्तीमगर र भरत खवास पारेनन्।

नेपालले मलेसियाविरुद्ध जुन २ मा क्वालालाम्पुरमा र चाइनिज ताईपेईसँग जुन ६ मा दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले यी मैत्रीपूर्ण खेललाई विश्वकप छनोट २०२० को तयारीका रुपमा लिएको छ।

प्रशिक्षक कालीनले झन्डै २ साता प्रशिक्षणपछि टोली घोषणा गरेका हुन्। आफ्नो खेलमा विकास गर्न यी महत्वपूर्ण खेल रहेको उनले बताए। केही खेलाडीहरु पूर्ण रुपमा फिट नभएका टोलीमा नपरेको उनको भनाई थियो।

‘प्रशिक्षणमा आधारित रहेर टोली घोषणा गरिएको हो,’ उनले भने, ‘केही नयाँ खेलाडीहरुले निकै राम्रो प्रदर्शन गरेपछि उनीहरुले टोलीमा स्थान बनाएका छन्। आशा छ उनीहरुले आफूलाई प्रमाणित गर्नेछन्। केही खेलाडीमा भने फिटनेश समस्या देखिएका कारण टोलीमा परेनन्। हामीले यी खेलमा पूर्ण फिट खेलाडीलाई मात्रै अनुबन्ध गरेका छौं।’

यस्ताे छ नेपाली टिम:

गोलकिपर: किरण चेन्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्डर: विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्डर/फरवार्ड: सुनिल बल, रवि पासपान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अविशेक रिजाल, अन्जन विष्ट