नेपालगन्ज भन्सारका अधिकृतसहित दश जनाबिरुद्ध मुद्दा दायर

नेपालगन्ज,बाँकेमा रहेको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार २० लाख २४ हजार बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले भ्रष्टाचारमा भन्सार अधिकृत बटुकृष्ण अधिकारी, जाँचकी नासु बसन्तकुमार सुवेदीलाई प्रतिवादी बनाएको छ । नक्कली प्रज्ञापनबाट सामान पैठारी गरी राजस्व छली गरेको आरोपमा उनीहरू विरुद्ध मुद्दा चलाएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

उनीहरूविरुद्ध ४ वर्षसम्मको कैद र विगो बमोजिमको जरिवानाको माग दाबी गरिएको छ ।

राजस्व अनुसन्धान विभागका नायव सुब्बा देवीबहादुर थापाविरुद्ध राजस्व छली तथा चुहावटका कार्यरको सूचना तथा सुराकीका आधारमा अनुगमन तथा अनुसन्धान गरी प्रचलित कानुन बमोजिम कारबाहीमा सघाउ पुग्ने गरी जिम्मेवारी निर्वाह गर्नुपर्नेमा बदनियतसाथ सरकारलाई हानिनोक्सानी तथा सामानधनीलाई फाइदा पु¥याएको आरोपमा मुद्दा दायर गरिएको छ ।

उनीलाई समेत भन्सारका कर्मचारीसरह नै कैद र जरिवानाको माग गरिएको छ ।

नियम तथा कार्यविधि उल्लंघन हुने गरी प्रचलित कानुनद्वारा निषेधित तवरबाट कर्मचारी समेतको मिलेमतोमा राजस्व छली गरी सरकारलाई हानीनोक्सानी र्पुयाउने कार्य गर्ने भन्सार एजेण्ट दिनेश कुमार बानिया, वनवोरी माता ट्रेडर्सका सञ्चालक रविन्द्र गुप्ता, वनवोरी माता ट्रेडर्सका लागि काम गर्ने वीरेन्द्र गुप्ता, हिमालयन कार्गोको संचालिका मधुकुमारी चौधरी, हिमालयन कार्गोको लागि काम गर्ने विनोद कुमार गुप्ता र राहुलकुमार गुप्ताविरुद्ध मुद्दा हालिएको छ । उनीहरूविरुद्ध २ वर्षसम्म कैद र विगो बमोजिमको जरिवाना गरिएको छ ।

भन्सार एजेन्ट बानियाँले कर्मचारीसँगको मिलोमतोमा वनवोरी माता ट्रेडर्सको ४ सय किलोग्राम दूधको पाउडर सामान उल्लेख गर्दै २०७५ जेठ २४ गते जारी भएको झुट्टा प्रज्ञापनपत्र नं १५३१५ का आधारमा घिउसमेत भित्राएको दाबी अख्तियारको रहेको छ ।

अभियोगपत्र अनुसार ना ६ ख ५८५९ र ना ७ ख १७ नम्बरका मालबाहक ट्रकबाट भन्सार महसुल तथा राजस्व छली गरी ल्याइएका मालबस्तु र प्रज्ञापन पत्रमा उल्लेख नभएको घिउ बदनियतसाथ भित्र्याएर सामानधनीसँगको मिलेमतोमा २० लाख २४ हजार बराबरको भन्सार महसुल राजश्व छली तथा चुहावट गराएका थिए ।