एम्बाप्पेले पीएसजी छोड्ने

काठमाडौं,फूटबलको सीजन सकिन थाल्दा खेलाडी किनबेचको हल्ला चल्न थालेको छ । संसारका उत्कृष्ट फूटबलरहरूलाई आफूकहाँ तान्न क्लबहरूबीच होडबाजी चलिरहेको छ ।

स्पेनी क्लब रियाल मड्रिडले सन् १९९५–९६ को सीजनपछि अत्यधिक हार बेहोरेको छ । उसले टोली सुधार्नका लागि करोडौं यूरो खर्च गर्न लागेको छ । इडन हजार्ड र पल पोग्बा जस्ता खेलाडी रियाल जाने अनुमान गरिएको छ ।

रियालले किन्न खोजेको अर्को खेलाडी पेरिस सेन्ट–जर्मानका युवा खेलाडी किलियन एम्बाप्पे हुन् । पीएसजीको यसपालिको सीजन निराशाजनक रह्यो । ऊ च्याम्पियन्स लीगको प्रिक्वार्टरफाइनलबाटै बाहिरियो, फ्रेन्च कपको फाइनलमा पराजित भयो अनि लिग १ मा अनाकर्षक जीत हासिल गर्‍यो ।

आइतवार फ्रान्सेली व्यावसायिक फूटबलर संघले एम्बाप्पेलाई लिग १ प्लेयर अफ द सीजन घोषणा गरे पनि उनी अर्को सीजनमा पनि यही लीगमा देखिने ग्यारेन्टी नभएको बताउँछन् ।

‘यो मेरा लागि अत्यन्तै महत्त्वपूर्ण क्षण हो । म मेरो करीयरको निर्णायक मोडमा छु,’ २० वर्षीय खेलाडीले भने । ‘मैले यहाँ धेरै कुरा जान्ने मौका पाएँ र थप जिम्मेवारी लिने समय आएको अनुभव गरिरहेको छु ।’

‘त्यो जिम्मेवारी पीएसजीमै पनि हुन सक्ने म आशा गर्छु र त्यो भयो भने निकै आनन्दको कुरा हुनेछ । नत्र नयाँ ठाउँमा जान्छु ।’

एम्बाप्पेका लागि यो सीजन अविश्वसनीय रह्यो । उनले २८ लीग खेलमा ३२ गोल गरे अनि सबै प्रतियोगितामा गरी ४० गोल हाने । सीएनएनबाट