ठोरीमा भारतीय र नेपालीबीच झडप, पाँच घाइते

स्थिति तनावग्रस्त

काठमाडौं, पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।

इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहसँग बाटो बारे सोधपुछ गरेका थिए । तर उनले गलत बाटो देखाए । तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा करीब पाँच नेपाली घाइते भएका थिए ।

किनमेल गर्न गएका नेपालीलाई भारतीयले महिला पुरुष जसलाई देख्यो त्यसलाई नै बाँसको चिर्पटले कुटपिट गरेको स्वीकार्दै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले दोषीलाई कारवाहीका लागि भारतको सहोदरवा थानालाई अनुरोध गरेको बताए ।

सो घटनाको जानकारी हुने बित्तिकै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्त, सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर विकसहितका टोली भिखनापुरी गई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा टिम्बरलाइनबाट नेपालीको उद्धार गरेका थिए ।

भारतीय पक्षको कुटाइबाट ठोरी गाउँपालिका–२ का विष्णु विष्ट, सुन्दरबस्तीका ५३ वर्षीय कमल खवास, इच्छा नगरकी २१ वर्षीया सदीक्षा पन्त, १२ वर्षीया सुष्मा पन्तलगायत पाँच घाइते भएका छन् । भारतीयको कुटाइबाट टाउकोमा चोट लागि घाइते भएका विष्णु विष्टलाई थप उपचारका लागि नारायणगढतर्फ लगिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा भिखना ठोरीस्थित सहोदरवा थानाका प्रहरी नायब निरीक्षक धनञ्जयकुमारसँग टेलिफोन सम्पर्क गर्दा उनले दोषीहरु फरार भएकोले उनीहरुको खोजी भइरहेको बताए ।

सो घटनालाई लिएर कुटपिट गर्ने समूहमाथि आवश्यक कारवाहीको माग गर्दै पीडितहरुले भारत भिखना ठोरीस्थित सुभद्रा थानामा उजुरी दिएपछि भारतीय सीमा सुरक्षा बल (एसएसवी), सुभद्रा थानाका अधिकारी र नेपाली सुरक्षाकर्मीसँग घटनाबारे छलफल गरिरहेको बताइएको छ ।

यसैबिच नेपालको सीमा नजिकैको भारतको किशनगञ्ज जिल्लाको डल्लेगाउमा हुर्किरहेका बालबालिका नेपालमा आएर पढ्छन् । आफ्नो गाउँमा विद्यालय नभएपछि उनीहरु घन्टौ हिँडेर पढ्नकै लागि नेपाली भूमि आइपुग्ने गरेका छन् ।

भारतीय ‘मेन मिडिया’ले तयार पारेको भिडियो हेर्दा सबैलाई अचम्ममा पार्ने गरी उनीहरुले भन्छन् हामीलाई हाम्रो देशको राष्ट्रिय गान थाहा छैन । सयौं थुँगा गाउन सक्छौं ।’ अनि उनीहरुले लय हारेर नेपालको राष्ट्रियगान गाउँछन् ।

सयौ थुंगाफुलका हामी एउटै माला नेपाली गुनगुनाउदै किशनगञ्ज निवासी रमेश कुमार भन्छन् ‘भारतभन्दा बढी हामीलाई नेपाल र नेपाली वीरताको कथाबारे धेरै थाहा छ ।’

त्यस्तै रमेशकै साथी नवाज आलम भन्छन् ‘हामीलाई नेपाली राष्ट्रिय गानमात्र गाउन आउछ, किनभने हामी नेपाली स्कुलमा पढ्छौं, त्यहाँ भारतीय गान सिकाउने कुरा पनि त भएन ।’

त्यस्तै अन्य छात्र छात्राहरुले पनि भारतको बारेमा भन्दा बढी नेपालको बारे बढी थाहा भएको बताएका थिए । झापाको केचनाकवल गाउपालिकासँगै जोडिएको भारत किशनगञ्जका बालबालिकालाई नेपाली विद्यालय पनि प्यारो छ । भारतका शीर्ष नेताको थाहा नपाउने उनीहरु नेपालका भीमसेन थापा, पुष्पकमल दाहाल प्रचण्डका बारेमा खुलेरै बोल्न सक्छन् ।

अहिले भारत चुनाव भइरहेको छ । चुनावका बेला विकास निर्माणका विषयलाई उठाएर यस्ता समाचारहरु बाहिर आउने गरेका छन् । भारतीय बच्चा नेपालबाट देशशक्ति सिक्दै भन्ने शीर्षकमा युट्युवमा राखिएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित बन्दै गएको छ ।