यसरी भित्रिन्छ नेपालगञ्ज नाकाबाट करोडौ मुल्यको चामल

भनिन्छ कृर्षी प्रदान मुलुक

नेपालगञ्ज,बाँके चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म ३९ करोड २६ लाख ५१ हजार २३२ रूपैयाँ राजश्व सङ्कलन गरेको छ ।

कृषि प्रधान मुलुक भए पनि दैनिक लाखौँ मूल्यको चामल नेपाल भित्रिरहेको छ । नेपालगञ्ज नाका हुँदै भित्रिएको चामल स्थानीय बजार र पहाडी जिल्लामा खपत हुने गरेको छ । देशमै बाँके, बर्दिया र दाङमा चामल उत्पादन हुने प्रमुख जिल्लाका रुपमा चिनिन्छन् ।

तर मागअनुसार उत्पादन बढाउन नसक्दा पछिल्लो समय करोडौँ मूल्यको चामल भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । यस्तै भन्सार कार्यालयका अनुसार चामलसँगै आलुको आयात पनि अत्यधिक बढेको पाइएको छ ।

यो अवधिमा भारतबाट एक अर्ब नौ करोड ४७ लाख रूपैयाँ बराबरको ५३ हजार २५१ मेट्रिकटन आलु नेपाल भित्रिएको जनाइएको छ । नेपालमा छिमेकी मुलुक भारतसँगै चीन, थाइल्याण्ड र बङ्गलादेशबाट पनि चामल आयत हुने गर्दछ ।