तिमी शहिद पुत्र, म बन्दी पुत्र

प्रिय सखी
तिमी भाग्यमानी रहेछौ
शहिदको छोरा कहलायौ
तिम्रो बाबा आफ्नो सपना
आफैसँग लिएर अमर भए
यहाँ हजारौ बाबाहरु
आफ्ना सपना आफ्नैहरुले
बुटमुनि कुल्चिएको टुलुटुलु हेरिरहेछन
तिमीले आफ्नो बाबा एक पटक
चितामा जलेको हेर्यौ
यहाँ हजारौ छोराहरु
आफ्ना बाबा आफ्नै सपनाको चिता माथी
दिनहुँ जलिरहेको हेरिरहेछन

प्रिय सखी,
तिम्रो र मेरो बाल्यकाल उस्तै बित्यो
एक्लै पाउनु पर्ने बाबाको हात
हजारौं निमुखासँग बाँडियो
एक्लै खेल्नु पर्ने आमाको काखमा
लाखौं बेसहाराको सपना सजाइयो
एक्लोपनले अत्ताउँदा
आमाको माया खोजियो
खडेरीले सताउँदा
बाबाको छायाँ खोजियो
कयांै पटक आफुलाई
आफ्नै घर भित्र लुकाइयो
कयौं पटक आफ्ना बालासोख
खडेरीमै सुकाइयो
प्रिय सखी
तिमी सौभाग्यशाली रहेछौ
तिम्रो बाबा रातोतारा बनि
आकासमा चम्किरहेका छन
तिम्री आमा जुन बनि
सितल छायाँ छरिरहेकी छिन
हररात तिम्रो खुशी बनि उदाउँछन
आफ्नो स्वर्णिम सपनालाई
दिनहुँ अङ्गालेर मुस्कुराउँछन
तर म,
सपनाहरु लुटिएको हेरिरहेछु
आफ्नाबाट आफ्नैहरु कुटिएको हेरिरहेछु
मेरा बाबा आफ्नै पसिनाबाट
जन्मिएको सत्ता भित्र
प्रतिबन्धित छन्
मेरी आमा आफ्नै त्यागबाट
जन्मिएको संबिधान भित्र
राजद्रोहको कसुरमा बन्दी बनेकी छिन
प्रिय सखी
तिम्रो भाग्यरेखा छोटोरहेछ
शहिदपुत्र बन्यौ
मेरो भाग्यरेखा लामै रहेछ क्यारे
फेरि राजद्रोही पुत्र बन्दै छु ।