रसुवाली कवि गिरफ्तारीको विरोध

रसुवाली कविको नामले परिचित ठाकुरप्रसाद तिमिल्सिनालाई गिरफ्तारी गरिएकोमा स्वतन्त्र लेखक, साहित्यकार, अभियन्ताहरूले विरोधसभा गरेका छन् ।

उनीहरूले कुनै हातहतियार, खरखजाना वा आपराधिक गतिविधिमा संलग्न नरहेका एक शब्दकर्मीको गिरफ्तारी गणतान्त्रिक मुलुकको लागि हास्यास्पद, निन्दनीय र खेदजनक रहेको भन्दै तत्काल रिहाइको माग पनि गरेका छन् ।

कविलाई राज्यद्रोहको मुद्दामा थुनामा राखिनुले नागरिकको राजनैतिक स्वतन्त्रताको हक कुण्ठित गरिएको, नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोलिएको भन्दै उनीहरूले भत्सर्ना गरेका हुन् ।

उनीहरूले ‘अभिव्यक्ति स्वतन्त्रताको पक्षमा’ ‘रसुवाली कविलाई रिहाइ गर’ ‘नागरिकको अभिव्यक्ति र राजनैतिक स्वतन्त्रताको हक सुनिश्चित गर’ भन्ने नारासहितको प्लेकार्डसहित सभा गरेका हुन् ।

रसुवाली कविलाई विप्लव निकट नेकपामा सम्बद्ध रहेको आशंकामा तीन साता अघि बालाजुको एक चियापसलबाट गिरफ्तार गरिएको जनाइएको छ ।

उनीबाट कुनै प्रकारको हातहतियार, आपराधिक गतिविधिमा संलग्न रहेको भने पुष्टि हुन सकेको छैन । उनको कोठाबाट खानतलासी गरी करिब दुई बोरा किताबसमेत जफत गरिएको छ । जसमा, माक्र्सवादी साहित्य, विभिन्न कम्युनिस्ट पार्टीको दस्तावेज रहेको बताइएको छ ।