कागले कान लग्यो

कथा

 
एउटा देश थियो जहाँका नागरिकहरू हल्लै हल्लामा विश्वास गर्थे । कुनै कुराको तर्क र प्रमाण आवश्यक थिएन, कसैले विध्वंस लयमा केही कुरा भन्यो कि त्यो हावा जसरी देशभरि फैलिहाल्थ्यो । त्यही देशको एउटा गाउँमा काले नाम गरेको एकजना लठेङग्रो बस्थ्यो । गाउँलेहरू कालेलाई खुब हेला गर्थे । उसँग जिस्किएर मजा लिन्थे ।
 
एकदिनको कुरा हो, काले एका बिहानै सुन्तलीको चिया पसलमा चिया खान आएछ । काले अलि उपद्रो र उत्पट्याङ कुरा गर्नमा खप्पिस थियो । सुन्तलीको पसलमा पुग्ने बित्तिकै पसलतिर फर्किँदै बायाँ खुट्टा उचालेर ठूलो आवाजमा “प्याट्टटटट ढ्वाँ….” पाधेछ र भनेछ-“चिया देउ भनेको सुनिनौँ ?” सुन्तली पनि के कम धारे हात लगाएर भनिहालिन्-“तेरो पेटमा चिड्को (चट्याङ) परयो कि क्या हो ? मर्न नसकेको असत्ति” सुन्तलीको पसलमा दुई चारजना बच्चाहरू थिए । कुवाबाट पानी ल्याइदिएको, भाँडा माझिदिएको, दाउरा ल्याइदिए बापत उनीहरू चियापानी खान पल्किएका थिए । कालेले पाधेको सुन्ने बित्तिकै भुराभुरीहरू त हस्याङ फस्याङ गर्दै आआफ्नो घरमा पुगेर सुनाएछन्-“कालेको पेटमा चिड्को परयो” हल्ला गाउँभरि फैलिएछ ।
 
कालेलाई जसले भेटे पनि भन्न थालेछन्-“ए काले तेरो पेटमा त चिडको परयो भन्ने सुनेको हुँ कसरी बाँचेको छस् हँ ?” कालेले सुन्तलीसँग आफूले गरेको ठट्टेउलीको चर्चा फैलिएको बुझेछ र भनेछ-“त्यस्ता चिड्को सिड्को माथिबाट कति आउँछन् तलबाट पाद बनेर जान्छन् ।” बापरे ! चिड्को लागेर पनि बाँच्न सक्ने मान्छे काले त जब्बर रहेछ । माथिबाट परेको चिड्को पचाएर तलबाट फाल्न सक्नेले त एक मुक्काले मान्छेलाई ठहरै पार्नसक्छ भन्ने त्रासले हिजो अस्ति हेलाँ गर्ने र जिस्किएर मजा लिनेजति डरले थर्कमान भएर सतर्क हुन थाले । बरू पहिले आफूले गरेको व्यबहारको प्रतिशोध लिन्छ कि भन्ने डरले कालेलाई मीठोमीठो खुवाउन थाले । सधैं तँ भनेर हेलाँ गर्नेहरू आफूलाई नमस्कार गरेको देखेर काले पनि अचम्मम परेको थियो ।
 
केही दिनपछि काले फेरि सुन्तलीको पसलमा चिया खान गएछ र उहीँ पाराले “ढ्वाँ……..” गरेर बेञ्चमा बसेछ । “होइन ए काले मोरो तँ जिउँदै छस् ? तेरो पेटमा त चिड्को परयो भन्थे त । त्यो दिनमा मेघ आएको थिएन कसरी परयो हँ चिड्को ? पहिले दुब्लाएर अहिल्यै मर्लास जस्तो थिस तँ त मोटाएर पो आइस त !” सुन्तलीले आश्चर्य प्रकट गरिन् । ” हेर है सुन्तली सबै गाउँलेहरू मलाई परैबाट नमस्कार गर्छन्, भेट्ने बित्तिकै मीठोमीठो खुवाउँछन्, तँ चाही हेपेर नबोल है भन्द्याछु नि !” नभन्दै सुन्तलीको पसलतिर दुईचार जना तन्नेरीहरू आएछन् ।
 
कालेलाई देख्नेबित्तिकै कोही दर्शन त कोही नमस्कार गर्न थालेछन् । ती मध्ये एउटाले चिया पसलको आँगनीमा चरिरहेको भालेलाई इंगित गरेर भनेछ -“सुन्तली लु यो भाले काटेर सफाचट गर त । अाज हाम्रो कालीदास राजालाई चखाउनु परो ।” कालेलाई गरेको यत्रो मान सम्मान देखेर सुन्तली चकित भइछे र भाले काटेर पकाउन थालिछे ! चिड्को पेटमा परेर पनि बाँच्नसक्ने महान मान्छेको रूपमा गाउँलेहरूले श्रर्द्धा सम्मान गरिरहे ।
 
केही समयपछिको कुरा हो बाक्लो कपडा र बाहिर प्लास्टिकले कान छोपेर काले टुप्लुक्क सुन्तलीको चिया पसलमा टहलिएछ । मान सम्मान श्रर्द्धाको कमी हुने कुरै भएन सबै कुरा गरेर पनि सबैजना आश्चर्यचकित भएछन् । सबैजना मुखाँमुख गर्न थालेछन् । कसैको बोल्न आँट गर्न सकेनन् । आँखिरीमा सुन्तलीले नै साहस गरी र भनि-“होइन राजा ! यस्तो टन्टलापुर गर्मीमा यति बाक्लो कपडा त्यसमा पनि प्लास्टिक किन बेरिबक्सेको ?” आफूलाई राजा सम्बोधन गरेको सुनेर काले प्रफुल्तित भयो ।
 
काले पहिला पनि सुन्तलीलाई एकोहोरो माया गर्थ्यो र जिस्क्याउन खोज्थ्यो तर सुन्तली अरूले झैं उसलाई लठेङग्रो सम्झेर हेलाँ गर्थी । जहिले नामसँगै एउटा न एउटा गाली थपेर सम्बोधन गर्थी । तिनै सुन्तलीले आज राजा भनेको सुन्दा खुसीले गदगद थियो काले।”कागले कान लग्यो नि त ! मेरो रानीलाई थाहा छैन र” प्याट्ट सुन्तलीको गालामा औंलाले हिर्काएर कालेले भनेछ । पहिले फोहोरी लाग्ने कालेको शरिर सुन्तलीलाई आज सुगन्धित लाग्न थालेछ ।
 
औंला यति बैंशालु लागे कि मनमनै “एकान्त भएको भए मेरो राजालाई अंगालो हालेर औंला चुमिरहन्थे” सोच्न थालिन् । वरपर भएका मान्छे पनि छक्क परे । यति बलमान मान्छे त कागको डरले कान छोपेर हिँडेको छ भने हामी भुसुनाको के हालत होला ! मफ्लर हुनेले मफ्लरले नहुने जतिले सर्ट पाइन्ट खोलेर आकाशतिर हेर्दै हतारहतार कान छोप्न थालेछन । एकान दोकान मैदान हुँदै सारा देशभरि हल्ला फैलिएछ-“कागले कान लग्यो” देशका चर्चित समाचार पत्र, रेडियो र टेलिभिजनको हेडलाइन बनेछ-“कागले कान लग्यो ।” देशको सूचना तथा सञ्चार मन्त्रालयले विशेष सतर्कता अपनाउन आव्हान गर्दै जनताको नाममा सूचना जारी गरेछ-“आतंककारी कागले मान्छे देख्नेबित्तिकै कान लग्न थालेकोले एक्लाएक्लै कोही पनि जनता घरबाहिर ननिस्किनु ।
 
निस्किनै पर्ने अवश्था आएमा बाक्लो कपडाले कान छोपेर हातमा कठबाँसका लौरो सहित समुहमा निस्किनु ।” राजधानी र देशका प्रमुख सहरहरूमा बन्द हडताल हुन थाले, टायर बालेर जिन्दावाद र मुर्दावादका नारा घन्किए-“आतंककारी काग, मुर्दावाद ! राष्ट्रभक्ति जनता, जिन्दावाद ! कान लग्न पाइँदैन, आतंककारी काग चाहिँदैन । मानवअधिकारवादीहरू शान्तिको कामना गर्दै भाषणबाजीमा उत्रिए ।
 
चोकचोकमा भएका कोणसभा र आमसभामा यस्ता भाषण सुनिए-” मानव शान्तिप्रिय प्राणी हो । मानवले आफ्नो जातलाई मात्रै होइन यस धर्तिमा रहेका पशुपन्छी तथा जनावरलाई समेत माया गर्छ । मानवको धेरै समय पशु पन्छी र जनावरको पालनपोषणमा खर्च हुँदै आइरहेको छ । हाम्रो कान लगेर आतंक सिर्जना गरिरहेको पाजी कागले सदियौंदेखि हाम्रो बिस्कुनमाथि हमला गर्दै आइरहेको थियो । घरको आँगनमा बसेर जहिले अशुभ कराइरहे पनि हामीले कागलाई माया गर्दै आयौँ । माया मात्रै होइन, उच्च सम्मान गरेर प्रत्येक यम पञ्चकको एक दिन कागको लागि छुट्ट्याएर कागपुँजा गर्दै आयौँ । तर पाजी कागले हाम्रो सदासयतालाई कायरता सम्झियो, सम्मानलाई निरीहता देख्यो ।
 
बिस्कुन र घरको आँगनसम्म यसले गरेको हमला हाम्रो कान लग्नेसम्म पुगेको छ । हामीले आफ्नो संयमतालाई अझैँ कायम राख्ने हो भने यो आतंकारीले भोलि हाम्रो आँखा नठुंग्ला भन्न सकिँदैन । यो मानवअधिकारको चरम उलंघन हो । यदि हामी अझै पनि आतंककारी कामविरुद्ध जाइलागेनौँ भने हाम्रो धैर्यतालाई कमजोरी ठानेर यसले हाम्रा मुटु कलेजा खान बेर लगाउने छैन ।
 
आँखा ठुंगेर अन्धो बनाइसकेपछि हाम्रो प्रतिरोध क्षमता कमजोर हुनेछ । हालसम्म आधिकारिक तथ्यांक आइ नपुगे पनि हजारौँको संख्यामा हाम्रा कान कागले लगिसकेको सुनिन आएको छ । त्यसैले अब उप्रान्त कान नलिन आग्रह गर्दै हामी ३ दिनको अल्टिमेटम दिन चाहन्छौ । सरकारलाई सत्यतथ्य छानबिन गरेर सार्वजनिक गर्न एउटा शक्तिशाली आयोग गठनका लागि हामी अपिल गर्दछौँ । यदि ३ दिनसम्म पनि कागले कान लिन छोडेन भने हात्तिलाई त कज्याएर घोडा चढ्ने मान्छे पाजी काग त के हो र अरिंगालको गोला खनिए झैं हुने चेतावनी दिन चाहन्छौँ ।
 
गृहमन्त्रीको अध्यक्षतामा छानबिन आयोग गठन भयो । छानबिनको घेरा साँघुरो बनाउन कुन ठाउँमा कागले कहाँबाट कतिजनाको कान लग्यो अनुसन्धान गर्न आवश्यक थियो । देशभरिका सिडिओ अफिसलाई काग आतंकको चपेटामा परेर कान गुमाउनेहरूको आंकडा छानबिन आयोगलाई पठाउन उर्दी गरियो । हप्तादिन पुग्यो अहँ कुनै जिल्लाबाट कान गुमाउने जनताको तथ्यांक फेला परेन । अन्तत: कागले कान लग्यो भन्ने हल्ला कुन जिल्लाको कुन गाउँबाट चलेको हो अनुसन्धानको तीर त्यतै सोझ्याउन आवश्यक देखियो। अनुसन्धानको घेरा साँघुरिदै अन्तमा सुन्तलीको चिया पसलतिर डोरियो । दिउँसोको २ बजेको हुँदो हो ५ जना प्रहरीसहित १०/११ जना गाउँलेहरूले टोलीले सुन्तलीको पसललाई घेरा हाल्यो । सुन्तलीको पसल सुनसान थियो ।
 
ढोकामा चुकुल लगाइएको हुनाले जुँगें हवलदारले झस्केलाबाट सुन्तलीको पसलभित्र चियायो । मुसुस्क हाँस्दै जुँगे हवलदारले हातको संकेतले अरूलाई बोलायो । एक एक जना गरेर सबैले चियाउँदै मुसुसुसु हाँस्दै खित्का छोड्न कान्लातिर दौडिए ।
 
कुरो के भने सुन्तली त मोरो कालेको अंगालोमा कस्सिएर “मेरो राजा” भन्दै औंला चुमिरहेकी रैछिन । केही छिन् पछि आवाज आउँछ-“मेरो राजा ! मलाई सम्हालिसिओस् , आ…अउ… सांकेतिक इशारामा निर्देशन दिइरहेको जुगें हवलदार थ्री नट थ्री राइफलको कुण्डाले भित्तामा हिर्काएर करायो-“काले ढोका खोल…” हवलदारको आवाजले कोठाभित्रको आवाज मौनतामा बिलायो । केही समयपछि पसिनाले निथ्रुक्क भिजेको रातोपिरो अवस्थामा सुन्तली र काले बाहिर निस्किए । “कागले कान लग्यो भन्ने को हो ?” जुँगे हवलदार आँखा तर्दै कालेलाई खाउँला झैं गरेर कुर्लियो । “मै हुँ सर” थुरथुर काँपिरहेको कालेको ओठबाट बोली निस्कियो । एक झापट कानमा जमाएर जुगेँ गम्कियो-“लु देखा कसको कान लग्यो ?” केही नबोली काले खुरुखुरु हिँड्यो, टोलीले पछ्याइरह्यो ।
 
निकै पर बजारको मासु पसल अगाडि टक्क अभिएर कालेले जुगेँलाई मासु पसले देखाउँदै भन्यो-“सर, त्यही हो कागले कान लग्यो भनेर हल्ला गर्ने ।” थर्काउन बानी परेको जुगेँले मासु पसलेलाई थर्काउँदै भन्यो-“कागले कान लग्यो भन्ने तपाईं नै होइन ?” नबिराउनु नडराउनु मासु पसल निर्धक्क बोल्यो-हो, मैले नै भनेको हुँ । खसी काटेर उ त्यसमा कान राखेको थिएँ, हाय हाय गर्दागर्दै कागले टिपेर लग्यो । मैले मान्छेको कान लग्यो त भनेको छैन नि ! बिचरा जुगेँ निशब्द भयो । सबैजना हाँस्न थाले ।
 
घटना अन्तर्राष्ट्रियकरण भइसकेको थियो तर कुन देशको समाचार हो एकिन भइसकेको थिएन । यता खसीको कान कागले लगेको तथ्य मोडिएर मन्त्रिपरिषद, मानवअधिकार आयोग, नागरिक समाज हुँदै भाइरल भइसकेको थियो । मन्त्रिपरिषदको आजको बैठकमा सम्मानीय प्रधानमन्त्रीले खसीको कानले सिंगो देश नै उथलपुथल हुनु सिंगो देशकै लज्जाको विषय भएकोले उक्त घटनालाई गुपचुप राखौँ भनेर निर्देशन दिए । विश्वभरि फैलिसकेको समाचार मन्त्रिपरिषदको बैठक कक्षको भित्तामा सीमित रहने कुरै थिएन । संयुक्त राष्ट्रसंघले समेत छानबिन सुरु गरिसकेको थियो । अन्तत; खसीको कान कागले लग्दा उथलपुथल हुने देश पत्ता लागेरै छोड्यो -नेपाल ।
 
(बैशाख २३ गते बेपाल बन्द छ भन्ने चलेको हल्लाबाट प्रेरित कथा)