आइसिसी टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले स्थान सुधार

पुग्यो ११ औं स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औं स्थानमा उक्लिएको हो । नेपालले आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै ११औं स्थानमा उक्लिन सफल भयो । यसअघि नेपाल १४औ स्थानमा थियो ।

टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रोमा इङ्ग्ल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौँ स्थानमा भारत रहेको छ ।

त्यसैगरी छैटौंमा न्यूजील्याण्ड, सातौंमा अफगानिस्तान, आठौंमा श्रीलङ्का, नवौंमा वेष्ट इण्डिज, १० औंमा बङ्गलादेश, १२ औंमा स्कटल्याण्ड, १३ औंमा जिम्बाबे, १४ औंमा नेदरल्याण्डस, १५ औंमा आयरल्याण्ड र १६ औं स्थानमा संयुक्त अरब इमिरेट्स छ ।

नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको टी ट्वान्टी सिरिजमा २–१ को जित निकालेको थियो । त्यस्तै नेपाल एक दिवसीय वरियतामा भने १४औं स्थानमा छ ।