मेरो हुन नसकेको मेरो देश

कविता

छाला फेरि फेरियो
र बाक्लो – बाक्लो मयल बनेर उत्रीयो
बिहानबाट साँझलाई स्पर्श गर्नका लागी केबल
जोतिइरहने शरिरबाट
जाँतो झैं पिसिइरहने शरिरबाट
अक्सर वस्त्र फेरिएन ।

यो त्यो समय थियो
जुन समय उसको देश हुन नसकेको
देशको प्रधानमन्त्री भन्दै थिए कि,
अब गरिबिले कोहि मर्नुपर्दैन ।

चिसो भातले आफ्नो आँत भर्न नसकेकी
चिसो रोदनले आँखा सुन्निएकी
भित्रैदेखिन राजस्थानी जमिन झैं पट्पटी फुटेकी उनि,
भोको आँत भर्ने लालसामा कुनै परदेशको
चिसो छिडिमा लिलाम हुन्छिन ।
र रुन्छिन !

यो त्यो समय थियो
जुन समय उसको आफ्नो देश हुन
नसकेको देशको प्रधानमन्त्री भन्दै थिए
अब कोहि नेपाली रुनुपर्दैन ।

मामुली भन्दा मामुलीमा
लिलामी हुन तम्सेको झुपडी
लिलामी हुन तैयार वृद्ध शरिर
घरधुरी कर र सानु चल्लाको करले
थचक्क थिचिएको मामुली मान्छे
साहुको ऋणले मिचिएको मामुली मान्छे
एक डोज परान त्याग्न डुडुवा खोलाको
निलो रहमा सुकेको पात झैं तैरिन्छ ।

यो त्यो समय थियो
जुन समय उसको देश हुन नसकेको
देशको प्रधानमन्त्री भन्दै थिए
अब नेपालमा पानीजहाज तैराइन्छ ।

बुढो सिमल झैं खोक्रो न खोक्रो
मेरो हुन नसकेको मेरो देश
र त्यस्तै मेरो देशका बुढा बा-आमाहरु
एक प्रती ऐलानी जमिनमा
खुट्टा टेक्ने लालसामा जुग सक्काउछ्न ।

यो त्यो समय थियो
जुन समय मेरो देश हुन नसकेको
मेरो देशको प्रधानमन्त्री अन्ततः
मेडिकल माफिया हुँदै जमिन
माफियामा अदलबदल हुन्छन र फुक्छन
सरकारी रेडियोमा
भ्रष्टाचारीहरुलाई‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍……….।