यसरी भव्य रुपमा सम्पन्न भयो आठौं राष्ट्रिय खेलकुद

खेलकूदमा लगानी गर्न उपराष्ट्रपति पुनको आग्रह

नेपालगन्ज, दुई वर्षपछि गण्डकी प्रदेशमा भेट्ने वाचासहित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ । बुधबार आयोजित भव्य समारोहका बीच आठौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव तथा कार्यकारी समितिका संयोजक केशवकुमार विष्टले गण्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई नवौं संस्करणको आयोजनाका लागि झन्डा हस्तान्तरण गरेका थिए ।

हरेक दुई वर्षमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताको सातौं संस्करण २०७३ पुसमा पूर्वाञ्चलमा आयोजना भएको थियो । सातौंकै समापनमा प्रदेश ५ ले आठौं राष्ट्रिय प्रतियोगिताको जिम्मेवारी पाएको थियो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान गरिएको भद्र सहमतिअनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको जिम्मा गण्डकी प्रदेशलाई दिइएको सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए । 

प्रतियोगितामा समावेश ३५ खेलहरू प्रदेश ५ का बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रूपन्देहीमा सञ्चालन भएका थिए । अधिकांश खेल बाँकेमा भए पनि भौतिक संरचनाका कारण आठौंअन्तर्गतका केही खेल प्रदेश ५ बाहिरका जिल्लामा पनि सञ्चालन गरिएको थियो । जसमध्ये स्क्वास ललितपुर, प्याराग्लाइडिङ र ट्रायथोलन कास्की र गल्फ काठमाडौंमा भएका थिए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १५ हजार रुपैयाँ दिने निर्णय गरिएको छ । यस्तै नयाँ कीर्तिमान बनाउने खेलाडीले भने २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यो पुरस्कार केही समयपछि खेलाडीको खातामै पठाइने भएको छ ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका पाँच हजार दुई सय ११ खेलाडीको सहभागिता रहेको थियो । जसमा दुई हजार आठ सय २५ पुरुष र दुई हजार तीन सय ८६ महिला खेलाडी रहेका थिए । सबै खेलका ६ सय ४० प्रशिक्षक र चार सय ६१ व्यवस्थापक सहभागी भएका थिए ।

खेलकूदमा लगानी गर्न उपराष्ट्रपतिको आग्रह

कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले खेल क्षेत्रमा सरकारले थप लगानी गर्न आवश्यक रहेको बताएका छन । नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा आयोजित आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले राष्ट्रलाई स्वस्थ राख्न खेलकूद अपरिहार्य भएको बताउँदै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे  ।उपराष्ट्रपति पुनले भने  “नेपालको राष्ट्रिय झण्डालाई विश्वसामु फहराउन खेलकूदको विकास जरुरी छ ।”

नेपालगन्ज रंगशालामा आयोजित समापन कार्यक्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय प्रतियोगिता खेलकुदका लागि महोत्सव भएको बताउँदै यसले हजारौं खेलाडीको भविष्य निर्धारण गर्ने बताए । उनले आठौंको समापन नै नवौं राष्ट्रिय खेलकुदको तयारी भएकाले यसमा जुट्न सबैलाई आग्रह गरे । ‘आठौंको समापन नवौं राष्ट्रिय खेलकुदको तयारी पनि हो’, उपराष्ट्रपति पुनले भने ‘यो तयारीमा जुट्न सबैलाई आग्रह गर्दछु ।’ उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) पनि सन् २०१९ भित्रै सम्पन्न हुने आशा व्यक्त गरे ।

पदक तालिकामा आर्मीको वर्चस्व

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीले वर्चस्व जमाएका छन् । विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफले शीर्ष तीन स्थान हात पारेका छन् । प्रतियोगितामा सर्वाधिक १२ स्वर्ण आर्मीकी गौरिका सिंहले जितिन् । पदक तालिकामा पहिलो स्थान हात पारेको आर्मीले प्रतियोगिताको तीन सय ७२ मध्ये एक सय ४० स्वर्ण जित्यो । यस्तै ८१ रजत र ६७ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्न सफल भयो ।

यसैगरी दोस्रो स्थानमा रहेको पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ कांस्य तथा तेस्रो भएको एपीएफले ५३ स्वर्ण, ७० रजत र ८१ कांस्य प्राप्त ग¥यो । विभागीय टोलीपछि सर्वाधिक पदक प्रदेश ३ ले जित्यो । प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० कांस्य प्राप्त ग¥यो । सबैभन्दा अन्तिममा रहेको कर्णाली प्रदेशले तीन स्वर्ण, चार रजत र १७ कांस्य पदक जित्न सक्यो । प्रतियोगितामा पहिलो पटक सहभागी एनआरएनए टोलीले ६ स्वर्ण, पाँच रजत र पाँच कांस्य जित्यो ।