सरकारी जग्गा हडप्‍ने नेताले पछि देश बेच्छन् : कमल थापा

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा लोकतन्त्रको नाममा लुटतन्त्र मौलाएको भन्दै सरकारी जग्गा बेचर खानेहरुले भोली देश बेच्न पनि पछि नपर्ने आराेप लगाएका छन्।

राप्रपाकाे शुक्रबार देशभर धर्म निरपेक्षता लेखिएको ब्यानर जलाउने कार्यक्रम अन्तर्गत काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासको वरिपरीको जग्गाकाे सुरक्षा गर्न नसक्ने, बचेर खाने नेता र कर्मचारीले भोलि देश बेच्न पनि बाँकि राख्दैनन्।’

उनले भने,‘हिजो बन्दुक बोक्नेहरुको भविष्य अन्योलमा छ, विदेश पलायन भएका छन् तर बन्दुक बोकाउनेहरु रातारात करोडपति अरबपति भएका छन्। यसको अन्त्य हुनुपर्छ।’

थापाले हिन्दुराष्ट्रकाे माग राख्दा धर्म नमान्ने वेधर्मीहरुको सरकारले आफूहरुमाथि कतिपय जिल्लामा धरपकड, लाठीचार्ज र दमन गरेकाे बताए। राप्रपाले धर्म निरपेक्षताको खारेजी, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र राजासहितको लाेकतन्त्रकाे माग गर्दै शुक्रबार देशभर धर्म निरपेक्षता लेखिएको ब्यानर, प्लेकार्ड जलाएको हाे।