परिवार सहित किन पुगे प्रचण्ड सुटुक्क सुकुटे ?

सुनकोशीमा र्याफ्टिङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड सुकुटे पुगेका छन्। परिवारका सदस्यसहित सुकुटे पुगेका प्रचण्डले सुनकोशीमा र्याफ्टिङ समेत गरेका छन् ।

विप्लवको बन्दका वावजूद अरनिको राजमार्ग हुँदै राजधानीबाट ७६ किमी टाढा सुनकोसी नदी बगरस्थित रिसोर्ट पुगेका थिए । नितान्त पारिवारिक कार्यक्रम बनाएर सुकुटे पुगेका दाहालको स्वागत जिल्लाका प्रभावशाली नेता अग्नी सापकोटाले गरेका थिए ।

केही महिना अघि मात्र दाहाल यो रिसोर्टमा आएका थिए। ‘राजनीतिक कामले थाकेको बेला मलाई शान्त वातावरणमा थकान मेट्न मन लाग्छ,’ यसअघिको रिसोर्ट बसाईँका क्रममा उनले सञ्चारकर्मीहरुसँग खुलेरै भनेका थिए, ‘यस्तो बेला म काभ्रे र सिन्धुपाल्चोक आउँछु। सिन्धुपाल्चोक अझ बढी मन पर्छ।’

दुई दल एकतापछि शक्तिशाली कम्युनिस्ट पार्टीको अध्यक्ष बनेका दाहालको यसअघिका यस्ता भ्रमणले राजनीतिमा कुनै न कुनै अर्थसमेत राख्दै आएको थियो ।

निकै व्यस्त राजनीतिक दैनिकीबाट थकित उनलाई पार्टी एकता प्रक्रिया नटुंगिदा टाउको दुखाई राखेको छ। गाउँदेखि केन्द्रसम्मका नेताले एकता प्रक्रिया टुंगिन बिलम्ब हुँदा काम नपाएको भन्दै गुनासो गरिरहेका छन्। अध्यक्ष दाहालले शान्त र आराम खोजेकाले नेता, कार्यकर्तासँग भेटघाट कार्यक्रमसमेत राखिएको छैन ।