धेरै कमाउने लोभ नगर्नुस् ! फसिएला यसरी…

काठमाडौं । तपाई कतै थोरै दिएर धेरै कमाउने लोभमा त पर्नु भएको छैन ? यदि त्यस्तो लोभमा पर्नुभयो भने ठगिन सक्नुहुन्छ । बेलैमा सचेत हुनुहोला । काठमाडौं उपत्यकामा अहिले यस्ता गिरोहको सक्रियता बढेको छ ।

कुनै पनि चिजको वास्तविक मूल्यभन्दा कममा पाइएको छ भनेर खरीद गर्दा उपत्यकाका धेरै व्यक्ति अहिले पीडित बन्न पुगेका छन् । सामान्यभन्दा भिन्न गतिविधि देखिएमा पनि तत्कालै प्रहरीलाई खबर गरी ठगी हुनबाट जोगिन महानगरीय प्रहरी परिसर काठमाडौंले सबैमा आग्रहसमेत गरेको छ । यस्ता घटनाका बारेमा गुनासा प्रशस्त अइरहेकाले अहिले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर खोजीकार्य भइरहेको परिसरका निमित्त प्रमुख अशोक सिंहले जानकारी दिए ।

‘बढी महत्वकांक्षा राखेर छिटो आर्थिक उपार्जन गर्न खोज्दा फसेको पाइयो, कुनै असामान्य क्रियाकलाप देखियो र सस्तो मूल्यमा सामान बिक्री गर्न खोजेको पाइयो भने होसियार हुनुहोस्, प्रहरीलाई तुरुन्त खबर गर्न नभुल्नुहोला ’, सिंहले सबैलाई आग्रह गरे । रातारात धनी बन्ने सपनामा सुनको टुक्रा किन्न खोज्दा फलामको टुक्रा किनेर लाखौं रुपैयाँ गुमाएका एक व्यक्ति अहिले प्रहरीको शरणमा पुगेका छन् । सुन भनेर फलामको टुक्रा किनेका काठमाडौंको राजेश विक रू. १९ लाख ठगीमा परेका छन् । यद्यपि ठगीका गिरोह पक्राउ गरिरसकेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए ।

विकले सामाखुशीस्थित् रानीबारीमा गएको पुसमा सुनको टुक्रा भनेर रू. १९ लाखमा खरीद गरे । फलामको टुक्रालाई सुनको गहना राख्ने प्याकेटमा पहेंलो कपडाले बेरेर आकर्षक तरिकाले राखेको अवस्थामा उनले किनेका थिए । पछि खोलेर हेर्दा चार ओटा फलामको टुक्रा भेटिएपछि मात्रै ठगीमा परेकोे चाल पाए । उनको उजुरीकै आधारमा खोजी गर्दा वैशाख १ गते ठगी गर्ने व्यक्ति सुन्धाराबाट पक्राउ परेको प्रवक्ता बोगटीले जानकारी दिए ।

बा २ ज १८४१ नम्बरको ट्याक्सीसहित पक्राउ परेका उनीहरुले ठगेको पैसा विभिन्न व्यक्ति मिली बाँडेको पाइएकाले रकम फिर्ता ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ । नुवाकोट दुप्चेश्वरका पूर्णबहादुर तामाङले रू.९ लाख ५० हजार र काभ्रे चौरी देउरालीका चन्द्रबहादुर श्रेष्ठले रू.३ लाख ५० हजार, प्रवीन श्रेष्ठले रू.३ लाख, सुवास श्रेष्ठले रू.३ लाख बाँडेका थिए । उनीहरुलाई पक्राउ गरी घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस्तै महँगोमा डलर साट्न पाइने लोभमा समेत सर्वसाधारण ठगीमा परेको अर्काे उदाहरण छ । ठगीका गिरोहले काठमाडौंको नयाँ बसपार्क, बालाजू, माछापोखरी, सामाखुशी र गौशाला क्षेत्रलाई मुख्य आधार बनाई विदेशबाट फर्किएकालाई डलरलगायत अन्य विदेशी रकम बढीमा साट्ने लोभ देखाइ ठगी गर्ने गिरोहसमेत पक्राउ परेका छन् ।

उनीहरुले बीचमा कागज राखी अगाडि र पछाडि सक्कली पैसा राखेर ठगेको अनुसन्धानमा खुलेको छ । ठगीमा एकै परिवारका दाजुभाइ संलग्न छन् । उनीहरुले अगाडि पछाडि बण्डलमा सक्कली नोट राखेर भित्र कागज राखी ठग्ने गरेका थिए । सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङले स्वयम्भूबाट पाँच तोलाको आँैठी, सामाखुशीबाट रू. ४६ हजार, गौशालाबाट रू. ४ लाख लुटेको प्रहरीले जानकारी दिएको छ । रासस