खेलाडीले सौजन्य पोशाक लगाउन पाईदैन– सदस्य सचिव बिष्ट

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हक्की खेलमा वडा अध्यक्षको सौजन्य भएको पोशाक खेलाडीहरुले लगाएको सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपालगञ्जमा शुक्रबार भएको पत्रकार सम्मेलनमा सदस्य सचिव बिष्टले राष्ट्रिय खेलकुद प्रतियोगितामा आफुखुशी कसैले पनि सौजन्यको पोशाक लगाउन नपाउने बताए । विष्टले भने,– राष्ट्रिय खेलकुदमा यस्तो हुनै सक्दैन, संलग्नमाथी कडा कारवाही गरिनेछ ।

उनले खेलाडीहरुले सौजन्यको पोशाक लगाएर मैदानमा प्रवेश गरेको विषयमा छानविन गरी दोषीलाई तत्काल कारवाही गर्ने चेतावनी समेत दिएका छन् । राखेपसँगको औपचारिक सम्झौतापछि मात्रै सौजन्यको पोशाक लगाउन सकिने उनको भनाई छ । नेपालगञ्जमा खेल भईरहदा बुधबार साँझ भएको तेश्रो खेलमा प्रदेश ५ को हक्कीको टिम मैदानमा प्रवेश गर्दा प्रदेशको जर्सी बिना नै प्रवेश गरेको हो ।

अन्य टिमहरु आ–आफ्नाे प्रदेश र विभागीय टोलीको जर्सीमा मैदानमा प्रवेश गर्दा प्रदेश ५ का खेलाडीहरु भने सौजन्य मो. सफिक बेहना वडा अध्यक्ष–४ लेखिएको जर्सी लगाएर मैदानमा प्रवेश गरेका थिए । यस सम्बन्धमा लोकप्रिय सन्देशमा समाचार प्रकाशन भएपछि सदस्य सचिव विष्टको भनाई बाहिर आएको हो ।

दोश्रो दिनमा समेत हक्कीको प्रदेशका खेलाडीले बाँके मात्रै लेखिएको पोशाक लगाएका थिए । दुई दिनको घटनापछि दर्शकले प्रतियोगिताको मात्रै नभएर प्रदेशकै बेइज्जत भएको प्रतिक्रिया दिएका छन् । राखेपले खेलाडीको जर्सीका लागि सम्वद्ध खेल संघलाई प्रति खेलाडी ८०० रुपिया उपलब्ध गराइएको बताए ।