नेपालगञ्जमा राष्ट्रिय खेलकुद हुनु गौरवको बिषय- मन्त्री राई

शहरी विकास मन्त्री मो. इस्तियाक राईले प्रदेश ५ मा राष्ट्रिय खेलकुद हुनु गौरव भएको बताएका छन् । नेपालगञ्जको मंगलप्रसाद माविमा बुधबार पुरुष हक्की प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री राईले भने,– नेपालगञ्जमा राष्ट्रिय खेलकुद हुनु भनेको ठुलो अवसर पनि हो । मन्त्री राईले बुधबारको खेल जित्ने प्रदेश ५ लाई ५१ हजार र प्रदेश १ लाई ११ हजार रुपिया सहयोग गरेका छन् ।

यसैबीच ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको पुरुष हक्की प्रतियोगितामा प्रदेश नम्बर ५ ले विजयी सुरुवात गरेको छ । घरेलु मैदान नेपालगन्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा बुधबार साझ भएको तेश्रो खेलमा प्रदेश ५ ले प्रदेश १ लाई ० का विरुघ ३ गोलको अन्तरले पराजित गरेको हो ।

प्रदेश ५ का तर्फबाट सोनु लामाले २९ औं मिनेटमा गोल गरी अग्रता कायम गरेका थिए । अमन कुमारले ४१ औं मिनेटमा अग्रता दोब्बर बनाए । यसैगरी मनिष गुरुङले ५३ औं मिनेटमा टिमका लागि तेश्रो गोल गरे । प्रतियोगिता अन्तर्गत बिहिवार बिहान पहिलो खेल विहान ७ बजे गण्डकी र नेपाल प्रहरी, ९ बजे दोश्रो खेल आर्मी र प्रदेश २ तथा तेश्रो खेल कर्णाली र प्रदेश ७ बीच हुनेछ ।