प्रेमविद्रोह

कविता

हरेक उकालिले देख्छन
मानिसहरु को-कती थकित छन
परम्परा जोगाउन,
हरेक उकालिले यो पनि देख्छन कि,
मानिसहरु को-कती लालायित छ्न
खिया लाग्दै गरेको परम्परा ढलाउन ।

उकालि छेउको वर र पिपलले
सुन्दाहुन प्रेमिल जोडिको मीठो साउती
र चाहना पोख्दाहुन –
हामि पनि मारुँ साउती हावाको साहाराले !
जोडिन चाँहदाहुन वर र पिपल
एकअर्काको अङ्गालोमा,
साट्न चाहदाहुन वर र पिपल
एकअर्काको चुम्बन ।

मानिस यति निर्दयालु छन कि
उनिहरुलाई समिपमा त राखिदिए
तर दिएनन जोडिन
र चुम्बन साट्न,
त्यसैले उनिहरु बस् साउती मात्र मार्छ्न
हावाको साहाराले ।

कोहि-कोहि वरपिपल
सबै वर र पिपल जस्ता नहुने रैछ्न ।
मानिसहरुलाई हाँक पस्किदै
जुगौ देखिन बटारियका छन उनिहरु
एकअर्कासित

र फेरि पनि बटारिने छन ।