पत्याउनुहुन्छ, मुसाले यसरी पियो रक्सी

एजेन्सी । रक्सी पिउन कडा नियम भएपनि मुसाले रक्सी नष्ट गर्यो भन्दा तपाईलाई अनौठो लाग्ला । तर भारतको बिहार राज्यको कैमुर जिल्लामा जफत गरेर भण्डारण गरेको रक्सी मुसाले पिएको बताईएको छ ।

भारतीय मिडियाका अनुसार कैमुर जिल्लाको एक गोदाममा सन् २०१६ देखि जफत रक्सी भण्डारण गरिएको थियो । सोमबार सो गोदामको रक्सी नष्ट गर्ने कार्यक्रम रहेको थियो । जिल्ला प्रशासनले ११ हजार लिटर रक्सी नष्ट गरेको थियो । रोलरले नष्ट गरिएको रक्सीमा घरेलुका अतिरिक्त विदेशी रक्सी वियर पनि थियो ।

अधिकारीहरुले करिब १० हजार रुपैयाँ बराबरको रक्सी मुसाले खाएको बताइएको छ । जतिपनि रक्सीको चुहावट मुसाका कारण भएको बताइएको छ । स्मरणीय छ, सन् २०१७ मा पनि बिहारमा जफत गरिएको करिब ९ लाख लिटर भन्दा बढी रक्सी मुसाले पिएको बताइएको छ ।

खबरका अनुसार बिहार पुलिस प्रधान कार्यालयले मुसाले रक्सी खाएको भन्ने जानकारी दिँदा बिहारका राजनीतिक दलहरुमा धेरै नै चर्चाको बिषय बनेको थियो । राजनीतिक दलहरु एक–आपसमा आरोप प्रत्यारोप मै उत्रिएका थिए ।