एसइईको प्रश्नपत्र बाहिरिनुमा प्रहरीकै संलग्नता

माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ।

घटना छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रम्हदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ।

यसलाई व्युरो र प्रहरी प्रधान कार्यालयले गोप्य राखेका छन्। प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टाछुट्टै छानविन गरेका थिए।

दुवै समितिले अनुसन्धान जारी रहेको बताइरहेका बेला सीआइबीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिएको हो। एक प्रहरी उच्च अधिकारीका अनुसार सोमबार बिहान काठमाडौं लगिएका दुवै प्रहरीलाई हतकडी लगाइएको छ।