सरकारको प्रतिबन्ध विरुद्ध विप्लवको कडा जवाफ

संघर्षका कार्यक्रम घोषणा

पार्टीमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ताहरु गिरफ्तार गर्न थालेपछि त्यसका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कडा प्रतिक्रिया दिएका छन् । सोमबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको बताएका छन् ।

आफ्ना पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित थुप्रै नेता कार्यकर्ता गिरफ्तार गरिएको र पार्टीलाई शान्तिपूर्ण कार्यक्रम पनि गर्न प्रतिबन्ध लगाएको भन्दै त्यसका विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा नेकपाले गरेको छ । महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, प्रतिबन्ध नहटाएमा र शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी वली सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने भनिएको छ ।

चरणबद्ध संघर्षका कार्यक्रम अनुसार चैत १६ गते शनिबार नेकपाले नेपाल बन्दको घोषणा गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘केपी—प्रचण्डको सामाजिक दलाल सरकार दिनप्रतिदिन नेपाली श्रमिक जनतामाझ अलोकप्रिय, असफल र सङ्कटग्रस्त बन्दै गएको छ ।

यता हाम्रो पार्टी राष्ट्रघाती, जनघाती, भ्रष्ट, ठग, मानवतस्कर, मजदुरमाराहरूलाई जनताको माग र चाहनाबमोजिम जनकारबाही गर्दै जाँदा आमजनताका बीचमा लोकप्रिय हुँदै गएपछि आफ्नो असफलता, बदनामी र सङ्कटलाई छोप्न कथित अशान्ति मच्चाएको, चन्दा उठाएको हवाला दिँदै नेपाली श्रमिक जनताको प्रतिनिधि हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै चरम फासिवाद लाद्न पुगेको छ । यस फासिवादको सारा राजनीतिक पार्टी, मानवअधिकारवादी सङ्घसंस्था, नागरिक समाज, बुद्धिजीवी, पत्रकार, प्रतिष्ठित कलाकारलगायत व्यक्तित्वहरूले विरोध गरिरहेका छन् । तर केपी सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर वस्तुतः देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको छ ।

हाम्रा पार्टीका स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज कमरेड सुदर्शन, पीबीएम कमरेड जीवन्त, केन्द्रीय सदस्यहरू कमरेड प्रज्वलन, कमरेड बन्धुलगायत दर्जनौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ भने देशव्यापी अप्रेसन सञ्चालन गरिरहेको छ । केपी वली सरकारको यो फासिवादी, निरङ्कुश, दमनकारी, आपराधिक दमनका विरुद्ध र कमरेड सुदर्शनलगायत नेताहरूको रिहाइका निम्ति स्थायी समितिको निर्णयअनुसार यही चैत १६ गते शनिबार देशव्यापी आमहड्तालसहित नेपाल बन्दको आह्वान गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल बन्द हाम्रो चाहना नभई फासिवादी दमनका विरुद्ध बाध्यता भएको जानकारी आमजनतामा गराउन चाहन्छौँ । यो बन्दले कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौँ । यसैगरी केपी वलीको फासिवादी सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको छ । यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लूट थोपर्ने नाटक मात्र हो भन्ने स्पष्ट गर्दछौँ ।

तथापि हाम्रो बन्द हाम्रै आन्तरिक विषय र दमनकारी सरकारको प्रतिरोध मात्र भएकाले १६ गतेको बन्दप्रति कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित र तरङ्गित नहुन आग्रह गर्दछौँ ।’

विज्ञप्ति मार्फत विप्लवले सरकारले देशमा फासिवाद र निरंकुशतन्त्र थोपरेको भन्दै त्यसका विरुद्ध उत्रेर प्रतिरोध गर्न सबै देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, कम्युनिस्ट, विभिन्न क्षेत्रका उद्योगी–व्यवसायी र आमजनतालाई आह्वान गरेका छन् ।

साथै विज्ञप्तिमा पहिलो चरणमा चैत २४ सम्मको संघर्षका कार्यक्रम घोषणा गरिएको छ । चैत २४ गतेसम्मको घोषित संघर्षका कार्यक्रम अनुसार चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने बताइएको छ ।

यस्तो छ बिज्ञप्ति