बर्दीसहित रुपैडिया नाका हुँदै दाङ पुगे भारतीय प्रहरी

के हेरि बसे चेक पोस्टहरू ?

 बर्दीमै दाङ आइपुगेका दुई भारतीय प्रहरीलाई पक्राउ गरेलगत्तै छाडिएको छ। गाडीसहित बाँकेको रुपैडिया नाका हुँदै दाङको तुलसीपुर पुगेका उनीहरुलाई तुलसीपुर प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका मुजफ्फरपुर थाना तिलाहर उत्तरप्रदेशमा कार्यरत एसआई भिके मौर्य र हेडकन्सटेबल महोम्मद अनिसलाई शुक्रबार छोडिएको हो।

यस विषयमा थप जानकारी लिन खोज्दा जिल्लास्थित प्रहरी अधिकारीहरुले घटना सामान्य भन्दै जानकारी दिन चाहेनन्। उनीहरु भारतबाट घटनाको अनुसन्धान गर्न दाङ (नेपाल) आइपुगेको बताएका एक प्रहरी अधिकारीले जानकारी दिए।

मानव बेचबिखन सम्बन्धी मुद्दामा छानबिन गर्न आएको बताए पनि यहाँको प्रहरीसँग समन्वय र जानकारीबिनै आइपुग्नु आश्चर्यको विषय भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल बताउँछन्।

‘दाङको इँटाभट्टामा भारतीय कामदार कामका लागि आएको ठगिएको भन्ने रहेछ,’ उनले भने, ‘छानबिन नै गर्न आए पनि त्यसरी आउनु चाहिँ गलत हो।’ यो विषयमा दुई देशका सीमा क्षेत्रका अधिकारीहरुको संयुक्त बैठकमा छलफल हुने उनले बताए।

बाँकेको सीमा क्षेत्रबाट दाङ पुग्न करिब १ सय ५० किलोमिटरको यात्रा गर्नुपर्छ। थुप्रै ठाउँमा गाडी चेकजाँच पनि हुन्छ। अझ दाङ र बाँकेको सीमा क्षेत्रमा पर्ने बाँके राष्ट्रिय निकुञ्जमा गाडी प्रवेश हुँदा गाडीको खानतलासी गरिन्छ। त्यस्तो अवस्थामा बर्दीमै रहेका भारतीय प्रहरी दाङ आइपुगेपछि सबैले यो विषयलाई चासोपूर्वक लिएका छन्।