कोही किन जन्माओस् छोरी ?

मैले सुनेको छु, भारतको महाराष्ट्र राज्यमा नचाहँदा नचाहँदै जन्मेकी छोरीलाई ‘नकुसा’ भनेर बोलाइन्छ ।  परिवारमा, समाजमा नचाहिने त छोरी मात्रै न हुन्छे । नचाहिने भएकाले नै गर्भमै उनको हत्या गरिन्छ । जन्मेपछि पनि छोरीहरूलाई जमिनमा गाडिन्छ । छोरीहरूलाई जिउँदै पुर्ने कार्य त निकै पुरानो संस्कृति नै हो । महाराष्ट्र सरकारले यस्ता नचाहिएका छोरीहरूका पक्षमा एउटा आन्दोलन नै सुरु गरेको छ ।

यो आन्दोलनअन्तर्गत एउटा व्यवस्था गरिनेछ । यी केटीहरूलाई ‘नकुसा’ भनेर बोलाउन पाइनेछैन, उनीहरूको वास्तविक नामबाटै बोलाउनु पर्नेछ । तर, के हजारौँ वर्षको परम्परा यसप्रकार कुनै कानुन बनाएर जबर्जस्ती बदल्न सम्भव छ ? कानुन बनाएर कुनै अर्को नामबाट बोलाउने व्यवस्था गरिदिए पनि के जुन कारणले नचाहिएका केटीहरू जन्मन्छन्, त्यसलाई बदल्ने कुनै वैकल्पिक व्यवस्था भइरहेको छ त ?

समाज र परिवारमा नारीलाई जुन भूमिकाका लागि बाध्य गरिन्छ, त्यो पूरै नारी समाजलाई नै अनावश्यक बनाइराख्ने सबैभन्दा ठूलो कारण हो ।  केटीहरूलाई यौन सामग्री, सन्तान पैदा गर्ने मेसिन र पुरुषहरूको दासी मानिन्छ । पत्नीहरू अहिले पनि पतिका निजी सम्पत्तिजस्तै हुन् । त्यसकारण समाजका हरेक मानिस ख्याल गर्छ, केटी कहाँ गई ? कसको साथमा गई ? कोसँग रात बिताई ? उसले के–कस्तो लगाएकी छे ? के खाएकी छे ? के पिएकी छे ? समाजका ती मानिस महिलाका विषयमा केवल ध्यान मात्रै दिँदैनन्, त्यसमाथि फैसला पनि गर्छन् ।

केटीहरूलाई उपदेश दिइन्छ, यो गर्नु हुन्छ र यो गर्नु हुँदैन भनिन्छ । र, भनेको नमानेमा दण्ड जरिवानाको व्यवस्था पनि गरिन्छ ।  केटीहरू परिवार, समाज, राजनीति सबै ठाउँमा नचाहिने नै छन् । केटीहरू नारीविरोधी र पितृसत्तात्मक समाजमा हरपल जोखिम उठाइरहेका हुन्छन् । यौनहिंसाको सिकार त उनीहरूले जन्मेलगत्तै व्यहोर्नुपर्छ । आजकाल त बाटोमा हिँडिरहेका केटीहरूको अपहरण गरेर सामूहिक बलात्कार नै गरिन्छ । केटीहरूका लागि बस, रेल, स्कुल, कलेज, अफिस, अदालत, अहँ कुनै स्थान पनि सुरक्षित छैन ।

समाजमा भनाइ नै छ, अभागीको गाई मर्छ, भाग्यमानीको पत्नी । सती प्रथा कानुनी रूपमा त अन्त्य भइसकेको छ, तर अर्को रूपमा आज पनि कायमै छ ।

उनीहरूको विवाहका वेला उनको घरवालालाई दाइजो दिनुपर्छ, तर पनि उनीहरू सुरक्षित हुँदैनन् । पतिलाई अझ बढी दाइजो चाहिन्छ, त्यसैले उनीहरूमाथि शारीरिक र मानसिक अत्याचार भइरहन्छन् । महिलाहरूलाई जलाएर मारिन्छ ।
केटीहरूको जीवन जन्मेलगत्तै कठिनाइले भरिएको हुन्छ । कुनचाहिँ आमा आफ्नी छोरीलाई जानीबुझी यस्तो यन्त्रणाले भरिएको संसारमा ल्याउन चाहली ?

कैयौँ महिला आफ्नी छोरीलाई भ्रुणमै हत्या गर्छन् । हरेक महिलालाई गर्भपतनको अधिकार छ । यदि उनलाई लाग्छ, यो पृथ्वी, यो देश, यो समाज केटीहरू रहनलायक नै छैन भने ऊ गर्भपतन गराउन सक्छे । महिलाहरूबाट गर्भपतन गर्न पाउने हक छिन्नु मानवअधिकारको उल्लंघन हो ।

महिलाहरूको यस्तो नरुचाइएको सन्तानलाई जन्म दिन नचाहनुको इच्छाका पछाडि बलियो तर्क छ । उनीहरू छोरीलाई पुरुषको हातबाट अपमानित, उपेक्षित र शोषणको सिकार बनाउन चाहन्न । त्यसैले महिलामाथि लिंगानुपात मिलाउन बोझ बोकाउनु सही होइन ।

यो समाजमा यदि पुरुष नचाहिने हुन्थे, पुरुष भएकैमा उसको शोषण हुन्थ्यो, उनीमाथि अत्याचार हुन्थ्यो भने महिलाहरू पक्कै पनि छोरालाई जन्म दिन अरुचि देखाउँथे । मलाई लाग्दैन, जुन समाजमा पढेलेखेका केटीहरू पनि नारीविरोधी काम गर्छन्, त्यो समाजमा महिलालाई छिटै नै समान अधिकार मिल्नेछ ।

आज महिला ‘करवा चौध’ र ‘सिन्दुर खेला’ जस्ता थरिथरिका पितृसत्तात्मक उत्सवमा भाग लिन्छन् ।  महिलाहरू पतिको दीर्घ आयुका लागि व्रत बस्छन् । पतिको मंगलका लागि मंगलसूत्र पहिरिन्छन् । सिन्दुर लगाउँछन्, शंखको चुरा लगाउँछन् । तर, पुरुषलाई त महिलाहरूका निम्ति कुनै व्रत वा उपवास गर्नु नै पर्दैन । पत्नी मरी भने पतिलाई अर्की महिला मिल्छे, नयाँ महिलासँगै थप पैसा पनि प्राप्त हुन्छ । यद्यपि, यसमा अपवाद पनि छ है । समाजमा भनाइ नै छ, अभागीको गाई मर्छ, भाग्यमानीको पत्नी । सती प्रथा कानुनी रूपमा त अन्त्य भइसकेको छ, तर अर्को रूपमा आज पनि कायमै छ ।

लगभग हरेक देशमा महिला दोस्रो दर्जाको नागरिक छे । महिलाहरू कहीँ पनि सुरक्षित छैनन् । पुरुषमाथि पनि अत्याचार नहुने होइन तर पुरुष भएकै कारण उनीहरूमाथि अत्याचार हुन्न । यो वास्तविकताका कारण नै महिलाहरू छोरीलाई जन्म दिन चाहन्नन् । स्त्रीहरूमाथि अत्याचार उनीहरू स्त्री भएकै कारण हुन्छ । उनीहरू केवल महिला भएकोमा पीडा भोगिरहेका छन् । त्यसकारण, अरू छोरीलाई जन्म दिन चाहन्नन् महिला ।

यदि म कुनै बच्चालाई जन्म दिन्थेँ भने छोरी जन्माउनुअघि दुईपटक सोच्थेँ । हो, म नारीवादी हुँदाहुँदै पनि म नारीविरोधी समाजमा आफ्नी छोरी दिनानुदिनको बलात्कार, यौन हिंसा तथा घरेलु हिंसाको सिकार भइरहेको कसरी हेर्न सक्छु ?

महिलामाथि छोरी जन्माउने दबाब दिनु हुँदैन । त्यसको सट्टा पितृसत्तात्मक समाजको ठाउँमा मानवतावादी या समानतामा आधारित समाजको निर्माण गर्नु आवश्यक छ । स्कुलमा महिलालाई समान अधिकार दिने पाठ्यक्रम अनिवार्य गरिदिनुपर्छ ताकि हरेक बच्चा पुरुष–स्त्रीको अधिकार समान छ भन्ने देख्न सकोस् ।  बच्चालाई यो महसुस हुने बनाऔँ कि आमा र बुबाको हैसियत नोकर र मालिकको जस्तो हुँदैन । उनीहरू समान मनुष्य हुन्, मित्र हुन् र सदैव साझेदारको हैसियतले रहून् ।

मलाई त लाग्छ, यो नारीविरोधी समाजमा महिलाहरूले बच्चा जन्माउन नै बन्द गर्नुपर्छ । छोरालाई जन्म दिनुको मतलब हो, भविष्यको अत्याचारीलाई जन्म दिनु । छोरीलाई जन्म दिनुको अर्थ हो, भविष्यमा शोषणको सिकारलाई जन्म दिनु ।

नारीविरोधी समाजमा महिलाहरूले क्रान्ति गर्नु आवश्यक छ । यो क्रान्तिको नाम हो ‘जन्मै नदिनु’ ।

विभिन्न देशमा शरण लिइरहेकी बंगलादेश मूलकी लेखक नसरिन हाल बिबिसी हिन्दी डटकमकी अतिथि सम्पादक छिन् । यो आलेख बिबिसी हिन्दी डटकमबाट अनुवाद  गरेकाे हाे ।