वडा अध्यक्षले सिफारिस समेत नदिने धम्की दिएपछि…

अधिकाँश वडाबासीलाई अपायक पर्नेगरी घरनजिकै भाँडामा वडा कार्यालय संचालन गरिरहेका बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले कानून विपरित सिफारिस समेत रोक्ने गरेको पाइएको छ । वडा अध्यक्ष सुनारले आइतबार समशानघाट ब्यवस्थापन समिति ईगाउँ दर्ताका लागि सिफारिस लिन पुगेका अध्यक्ष उज्जवल विसीलाई गाउँपालिकाको केन्द्रबाट सिफारिस लिनु भन्दै आफुले सिफारिस नदिने बताउँदै फिर्ता पठाएका थिए । ई गाउँबासीले सो सम्बन्धमा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको ध्यानाकर्षण गराएका थिए ।

समितिका अध्यक्ष विसी र वडा अध्यक्ष सुनारबीच सिफारिसका विषयमा चर्काचर्की समेत परेको थियो । त्यसको केही घण्टापछि चौतर्फी दबाब परेपछि समितिका सल्लाहकार मानबहादुर सिंक ठकुरी पुनः सिफारिस लिन वडा कार्यालय पुगेका थिए । दोश्रोपटकमा मात्र वडा अध्यक्ष सुनारले सिफारिस दिए ।

बागेश्वरी गाविसको साविक वडा नम्बर ७,८ र ९ का स्थानीय बासिन्दाले एकनम्बर एफगाउँ सडक कालोपत्रे गरिदा अन्य वडामा झै ३.७५ मिटर कालोपत्रे हुनुपर्ने माग गर्दै आएकोमा आइतबार गाउँपालिकामा ध्यानाकर्षण गराउन पुगेका थिए ।

स्थानीयको मागपछि गाउँपालिकाले कालोपत्रे ३.७५ मिटर नै हुने गरि पुनः स्टिमेट तयार पार्ने तयारी गरेपछि वडा अध्यक्ष सुनार साविको वडानम्बर ७,८ र ९ का अगुवासँग रिसाउँदै सिफारिस नदिने धम्की दिएका हुन् । सडक कालोपत्रे ३.७५ मिटर भएमा एफगाउँसम्म पुग्ने नेकपाका नेता देवराम विसीले बताए ।

तर वडा अध्यक्ष सुनारले ५.५ मिटर कालोपत्रे गरी डिगाउँमै सिमित गर्न खोजेको दावी गरिएको छ । उक्त सडकमा कालोपत्रेका लागि साविक ७,८ र ९ का अगुवाले नेकपा सांसद नन्दलाल रोकायको घरमै धर्ना दिएका थिए । गाउँपालिकाले दुई करोड र निर्वाचन क्षेत्र पुर्वाधारको एक करोड वजेटमा सडक कालोपत्रे हुन लागेको हो ।

यसैगरी स्थानीयले सडक १२ मिटर चौडाईको कायम गर्न समेत माग गरेका छन् । पार्वतीपुरका नेकपा नेता खड्ग वलीले स्थानीयले माग राखेकै आधारमा सिफारिस दिन्न भन्नु कानून विपरित भएको दाव गरे । वडा अध्यक्ष सुनारले गत स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारका क्रममा ईगाउँमा वडा कार्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए । निर्वाचन जितेपछि घरनजिकै भाँडामा वडा कार्यालय संचालन गरेपछि बहुसंख्या वडाबासी समस्यामा परेका छन् । एफगाउँदेखि एकनम्बर सम्मका जनताको पायकपर्ने स्थानमा वडा कार्यालय हुनुपर्ने माग गरिएको नेकपा नेता विसीले बताए ।