पुर्व बिद्यार्थी नेताको उदहारणिय विवाह – विवाहको खर्च कटाएर शिक्षामा पाँच लाख सहयोग

मुुसिकोट नगरपालिका–१ सल्लेका नरेन्द्र विक र नेपालगन्जकी रीना राईले विवाहको खर्च कटाएर शैक्षिक विकासमा पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । आइतबार सरस्वती मावि सल्लेमा सामान्य कार्यक्रम गरी विक र राईले अन्तर्जातीय प्रगतिशील विवाह गरेका थिए । विप्लव नेतृत्वको नेकपाको रुकुम पूर्वका सेक्रेटरी र पुर्व बिद्यार्थी नेता समेत रहेका विकले समाजलाई सकारात्मक सन्देश दिन विवाहमा लाग्ने खर्चले शैक्षिक क्षेत्रमा सहयोग गरेको बताए ।

नवदम्पती विक र राईले चार लाख नगद र शैक्षिक सामग्री गरी पाँच लाख रुपैयाँ स्थानीय दुईवटा विद्यालय तथा तीनजना विद्यार्थीलाई सहयोग गरेका हुन् । उनीहरूले सरस्वती मावि सल्लेलाई १ लाख ५१ हजार नगद र करिब १ लाख रुपैयाँबराबरको शैक्षिक सामग्री तथा वीर बलभद्र मावि थवाङ रोल्पालाई एक लाख नगद सहयोग गरेका छन् ।

त्यसैगरी, उच्च शिक्षा अध्ययनका लागि सहिदपुत्री थवाङ रोल्पाकी सिजमाया घर्ती, दाङकी असहाय हेमकुमारी पुन र मुगुकी गरिब तथा जेहेनदार विद्यार्थी बालकेश नेपालीलाई जनही नगद ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।