राउटेका मुखियालाई दिइयो सरकारी जागिर

भए खुशिले गदगद…

फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाति राउटे समुदायका मुखियाहरुले पहिलोपटक जागिर खाएका छन् । विशेष गरी नेपालका तीनवटा प्रदेशहरु प्रदेश नं. पाँच, कर्णाली र सुदूरपश्चिमका वन जंगलमा बसोबास गर्दै आएका राउटे मुखियाहरुले रोजगारी पाएका हुन् ।

एईआएन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित राउटे परियोजनाबाट उनीहरुलाई रोजगारी प्रदान गरिएको हो । समुदायका महामुखिया महिनबहादुर शाही, मुखियाहरु सुर्यनारायण शाही, दिलबहादुर शाही र वीरबहादुर शाही तथा राउटे युवा प्रकाश शाहीलाई जागिर दिइएको हो ।

राउटे समुदाय बसोबास गरिरहेको स्थानमा राउटे पारासामाजिक कार्यकर्ताको पदमा रही समुदाय परिचालन, अन्य समुदायसँग समन्वय र सहकार्य गर्दै सशक्तिकरण गर्न समुदायका महामुखिया र मुखियासहित पाँच जनालाई राजगारी दिइएको हो । उहिरुलाई शनिबार संस्थाका पूर्वअध्यक्ष सिता कुमारी रानाले समुदाय बसिरहेकै स्थानमा पुगेर नियुक्तिपत्र प्रदान गर्नुभएको छ । हाल उनिहरु सुर्खेतको लेकबेसी नगरपालिका–१ भेरी नदी किनारमा बसोबास गर्दै आएका छन् ।

राउटे सामाजिक कार्यकर्ताहरुको विभिन्न जिम्मेवारीहरु तोकिएको छ । उनिहरुले समुदायमा बालबालिकालाई औषधि खुवाउन र व्यक्तिगत सरसफाईमा लाग्न उत्प्रेरित गराउनेछन् । समुदायमा राउटे परियोजनामार्फत यस अघिदेखि नै तीन जना कर्मचारी कार्यरत छन् । परियोजना मार्फत खटिएका कर्मचारीहरुलाई वाल क्लव, महिला समूह र युवा समुह गठन गर्न सहयोग तथा सहजीकरण गर्ने, जोखिम तथा कुपोषित राउटे वालवालिकालाई पोषणयुक्त लिटो खुवाउन सहयोग गर्ने सोसेकका अध्यक्ष हीरासिंह थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार राउटे नागरिक विरामी परेका र चोटपटक लागेका राउटे समुदायलाई उपचार गर्न सहयोग तथा सहजीकरण गर्ने, राउटे समुदाय बसेको सामुदायिक वन संरक्षणको लागि सकेसम्म थोरै क्षति हुने गरि आफ्नो सिपको प्रयोग गरि सामाग्री निर्माण गर्न सहजीकरण गर्नेछन् ।

यस्तै आफु बसोबास गरेको नजिकको समुदाय, स्थानीय सामुदायिक वन, स्थानीय तह, सम्वन्धीत प्रदेश सरकार र गुँरास गाउँपालिकासँग समन्वय र सहकार्य गर्ने, आफ्नो समुदायमा मदिरा प्रयोग, बेचविखन बन्द गर्ने, बाह्य सहयोगलाई एकद्धार प्रर्णाली मार्फत ग्रहण र संकलनमा सहजीकरण गर्नुका साथै यसको जानकारी गुराँस गाउँपालिकालाई गराउनेछन् ।

राउटे पारासामाजिक कार्यकर्ताको पदमा रहि सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रभित्रका काठहरु कम भन्दा कम क्षति हुने गरेर घर निर्माणमा सहजीकरण गर्ने बताइएको छ । राउटे समुदायको सामाजिकीकरण र जीवनशैलीमा परिवर्तन ल्याउनका लागि समुदायका मुखियाहरुलाई समेत समावेश गरिएको सोसेकका पूर्व अध्यक्ष सिता कुमारी रानाको भनाई छ ।

यस्तै राउटेलाई सामाजिक सुरक्षा भत्ता समेत प्रदान गरिएको छ । दैलेखको गुराँस गाउँपालिकाले माघ महिनाको सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो । समुदायका १ सय ४५ जनालाई जनहि दुई हजारका दरले भत्ता प्रदान गरिएको गुुराँस गाउँपालिकाले जनाएको छ । गत असारमा गुराँस गाउँपालिकाले परिचयपत्र वितरण गरेसंगै राउटेलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।