यी हुन इमान्दार ट्याक्सी चालक : जसले फर्काए साढे तीन लाखको सामान

एकजनाले चालकले आफ्नो ट्याक्सीमा छुटेको साढे ३ लाख रुपैयाँ बराबरको सामान सम्बन्धित धनीलाई फिर्ता गरेका छन् । काठमाडौँ उपत्यकामा सञ्चालित बा.२ ज २२७९ नम्बरको ट्याक्सीका चालक सुनसरीको धरान घर भइ हाल भीमसेनगोला बस्ने ३८ वर्षीय सिमल राईले उक्त मूल्य बराबरको सामान सम्बन्धित धनीलाई बुझाएका हुन् ।

काठमाडौंको थापागाउँ बस्ने गुल्मीको बाझकटेरी-३ घर भएकी २८ वर्षीया वसन्ता भुषालले करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल राईले चलाउने ट्याक्सीमा बुधबार बिहान छुटाएकी थिइन् ।

बुधबार बिहान अनामनगरदेखि नैकापसम्म उक्त ट्याक्सीमा यात्रा गर्ने क्रममा सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिजाडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थानसहित त्यो मूल्य बराबरको सामान उनले छुटाएकी थिइन् ।

सामान आफ्नो ट्याक्सीमा छुटेको थाहा पाएपछि ट्याक्सी चालक राईले आफैँ महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ल्याई बुझाएपछि प्रहरीले सम्बन्धित सामान धनीकी बहिनी २४ वर्षीया सोनिया भुषाललाई हस्तान्तरण गरेको हो । अन्नपुर्णबाट