तामझामका साथ सुरु भयो १८ औं एशियाली खेलकूद

हेर्नुहोस् तस्बिरमा

१८ औं संस्करणको एशियाली खेलकूद प्रतियोगिताको शनिबार साँझ एक भब्य समारोका बीच उद्घाटन गरिएको छ । सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरे ।

उद्घाटन समारोहमा सहभागी राष्ट्रका सबै खेलाडीले आफ्नो देशको राष्ट्रियता झल्कने पोशाकमा मार्चपास गरेका थिए। यस्तै कलाकारका विभिन्न प्रस्तुतिले पनि उद्घाटन समारोहलाई भब्य बनाउन मद्यत गरेको थियो । उद्घाटन समारोहलाई दशौं हजारले प्रत्यक्ष र टेलिभिजनमार्फत लाखौंले हेरेको बताइएको छ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल हो एशियाली खेलकूद अर्थात एशियाड ।

उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाएको छ । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन्। ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । इण्डोनेसियामा सन् १९६२ मा पनि एशियाडको चौथो संस्करण भएको थियो ।

इण्डोनेसियाका सर्वाधिक ९५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एशियाली खेलकूदमा समग्रमा सबैभन्दा बढी स्वर्ण जितेको चीनले ८७९ खेलाडी सहभागी गराएको छ । त्यस्तै थाइल्यान्डका ८१६, दक्षिण कोरियाका ८०७, चाइनिज ताइपेइका ५५८ र भारतका ५७२ खेलाडी सहभागी छन् । एशियाडमा नेपालबाट विभिन्न २९ खेलमा १८५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।