दलालले खाडी देश लैजान दिल्ली पुर्‍याएका दर्जनौं नेपाली महिलाको उद्धार

महिला आयोग भन्छ- प्रहरीले दुःख दियो

अवैध रुपमा नक्कली कागजात बनाई भारतको बाटो हुँदै खाडी मुलुकमा रोजगारीका लागि लागिएका नेपाली महिलाको नयाँ दिल्लीमा उद्धार भएको छ। यो घटनाले दलालहरुले कीर्ते कागजात बनाई महिलालाई भारतको बाटो हुँदै खाडी मुलुक लैजाने गरेको खुलेको हो। नयाँ दिल्लीमा अलपत्र परेका महिलाहरुको उद्धारपछि केहीसँग फर्जी कागजात भेटिएपछि यो तथ्य खुलेको हो।  नयाँ दिल्लीका विभिन्न स्थानबाट पछिल्ला केही दिनमा नेपाली राहदानी लिएर खाडी मुलुक हिँडेका ७१ महिलाको उद्धार गरिएको दिल्ली महिला आयोगले जनाएको छ।

आयोगका अनुसार अधिकांश महिलालाई बनारस हुँदै दिल्ली पुर्यााइएको हुनसक्ने आधार भेटिएका छन्। मंगलबार राति उद्धार गरिएका ३९ जनाको कागजपत्र लगायत जाँच गर्न बाँकी रहेको दूतावासका अधिकारीहरूले बताएका छन्। यद्यपि नेपाली महिलाको मेडिकल जाँचका क्रममा नयाँ दिल्लीस्थित पहाडगन्ज प्रहरीले अनावश्यक दुःख दिएको दिल्ली महिला आयोगकी स्वाती मालिवालले बताएकी छिन्।

उनले बुधबार साँझ ट्विट गर्दै भनेकी छिन्- बिहानदेखि ३९ नेपाली महिलालाई पहाडगञ्ज थानामा राखिएको छ। जबकि ११ बजे मेडिकल सकिएको हो। उनीहरु रातभरि सुतेका छैनन्। मैले उनीहरुलाई शिविरमा लैजान्छु भन्दा पनि अनुमति दिएको छैन। म सम्झिन सकिरहेको छैन, यो कस्तो प्रक्रिया हो जहाँ पीडितलाई अझ पीडा दिइन्छ।’

अवैध रुपमा खाडीमा महिला कामदार लैजान भारतको बाटो

नेपाली महिलालाई अवैध रुपमा तेस्रो मुलुक पुर्यााउन अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय भएको हुनसक्ने यो घटनाले उजागर गरिदिएको छ। नेपाल सरकारले जोर्डनबाहेक खाडी मुलुकमा घरेलु कामदारका रूपमा महिलालाई पठाउन प्रतिबन्ध लगाएको छ। तर दाललहरुले भारतीय बाटो हुँदै महिलालाई प्रतिबन्धित मुलुकहरुमा पुर्याबउने गरेका छन्।

नेपाली राजदूतावासका अनुसार भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकका लागि यात्रा गर्न आवश्यक कागजपत्रका नमूना भारतीय अध्यागमन विभागलाई तत्कालै इमेल गरेर पठाइने प्रणाली लागू भइसकेको छ।

दिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले भनेका छन्, ‘तर, अहिले पनि नेपाली महिला नक्कली कागजात बोकेर भारतीय अध्यागमन पार गरेर तेस्रो मुलुक पुगिरहेका छन्।’ कामदार भिसामा खाडी मुलुक जानबाहेक अरू भ्रमणका लागि भारतस्थित राजदूतावासले कागजपत्र बनाउनु नपर्ने हुँदा सहजै महिलाले भारतीय अध्यागमन पार गर्ने गरेका छन्। नेपाललाइभबाट