डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

रात र दिन छुट्याउन छाडे

डा. गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको छ। चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका डा. केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गए पनि सरकारले उनका माग सम्बोधन गर्ने छाँट देखाएको छैन।

डा केसी अनशनको २६ औँ दिनमा आइपुग्दा उनको शरीरमा रक्तकोष (डब्लूबीसी) कम हुँदै गएको, निरन्तर बान्ता हुने, रात र दिन छुट्याउन नसक्ने, रगतमा सुगरको मात्रा कम, मुटुको चाल बन्द भई कुनै पनि बेला बेहोस हुन सक्ने जस्ता जटिल समस्या देखिन थालेको चिकित्सक लक्ष्मण भुसालले जानकारी दिए।

‘आज उहाँको रगतमा सुगरको मात्रा पनि धेरै कम भएको देखिएको छ। रगतमा चाहिने पोल्सियम तत्व पनि न्यून छ’, केसीको स्वास्थ्य अवस्थालाई नियालिरहेका चिकित्सकहरुले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसले गर्दा कुनै पनि वेला उहाँको मुटुको धड्कनमा समस्या आउन सक्छ।’

उनले हिजो अस्ति पनि बान्ता गरेको तर आज भने अघिपछि भन्दा लगातार रूपमा बान्ता भइरहेको र जुनसुकै बेला बेहोस हुन सक्ने अवस्था रहेको चिकित्सकहरूले बताएका छन्।