स्वास्थ्य क्षेत्रको सिण्डिकेट अन्त्य गर्नुपर्छः मन्त्री यादव

उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पताललाई उद्योग र व्यापार बनाएका कारण स्वास्थ्य क्षेत्र ध्वस्त भएको बताएका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ चुनिखेलमा आइतबार स्वास्थ्य चौकी भवन हस्तान्तर कार्यक्रम मन्त्री यादवले स्वास्थ्य क्षेत्रभित्रको ठेकेदारी प्रथा अन्त्य हुनुपर्ने बताएका हुन् ।

‘स्वास्थ्य क्षेत्रमा व्याप्त सिण्डिकेट र ठक्का प्रथा अन्त्य गर्नै पर्छ’, उनले भने, ‘स्वास्थ्य क्षेत्रमा औषधिको गुणस्तरमा कुनै सम्झौता गर्न सकिन्न ।’ मन्त्री यादवले औषधिको गुणस्तर र प्रभावकारीताको अनुगमन गरिने समेत बताए । उनले औषधिको गुणस्तरमा सरकारले उच्च प्राथमिकताका साथ ध्यान दिने बताए ।

गाउँलाई आधार बनाई बिरामी जनतालाई गाउँमै सेवा दिनुपर्ने उनको भनाई थियो । मन्त्री यादवले भने, ‘चिकित्सकहरू शहरमा बस्छन् । गाउँमा नबस्दा स्वास्थ्य सेवा लिनबाट गरिब जनता बञ्चित हुनुपर्ने अवस्था आएको छ । अस्पताल नजाने डाक्टरको प्रवृत्ति बन्द हुनुपर्छ । जनताले सेवा गाउँमै पाउनुपर्छ ।’

काठमाडौंभित्र पनि थुप्रै गाउँठाउँ दुर्गम जस्तै अवस्थामा रहेको उनले बताए । ‘जहाँ राज्यको ध्यान पुग्न सकेको छैन’, यादवले भने, ‘दुर्गम स्थानमा पनि सर्वसुलभ रुपमा स्वास्थ्य सेवा र उपचार पु¥याउनुपर्छ । राज्यको दायित्व हो ।’

सो क्षेत्रका सांसद गगन थापाको समेत उपस्थिति रहेको कार्यक्रममा ‘ग्लोवल सेयर्स काठमाडौं’ले निर्माण गरिदिएको स्वास्थ्य चौकी भवन उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादबले बुढानिलकण्ठ नगरपालिकालाई हस्तारन्तरण गरेका थिए ।