दरबार हाइस्कुल पुनर्निर्माणबाट चीनले हात झिक्दै

काठमाडौं महानगरपालिकाले रानीपोखरीस्थित भानु मावि (दरबार हाईस्कुल) र संस्कृत माविको भवनमा भूमिगत (अन्डरग्राउन्ड) पार्किङ बनाउनै पर्ने अड्को थापेपछि विद्यार्थी त्रासमा रहेर फेरि जीर्ण भवनमै अध्ययन गर्न बाध्य हुनुपर्ने सम्भावना बढेको छ। भूकम्पले थिलथिलो भएर जीर्ण बनेपछि विद्यार्थी टहरामा पढ्दै आएका छन्। विद्यालय परिसरभित्रै बनाइएका टहरोमा पढ्ने विद्यार्थी जीर्ण भवननजिक पढ्नुपर्दा कुनबेला भवन ढलेर मरिने हो भन्दै त्रासमा अध्ययन गर्न विवश छन्।

भूमिगत पार्किङ पनि बनाउनुपर्ने अड्डी कामपाले लिएपछि पुनर्निर्माण रोकिएको हो। विद्यालय भवनको नक्सा स्वीकृतिका लागि गत साउनदेखि प्रक्रिया सुरु भए पनि बारम्बार बेग्लाबेग्लै स्वार्थ समूहले पुनर्निर्माण अवरुद्ध गर्दै आएका छन्। बारम्बार पुनर्निर्माणमा अवरोध हुन थालेपछि स्कुल भवन बनाइदिने जिम्मा लिएको चीन सहयोग रकम नै फिर्ता लैजाने मनस्थितिमा पुगेको छ। दुवैै स्कुलका भवन निर्माण गर्न ८० करोड रुपैयाँ लाग्ने अनुमान छ।

भवनको नक्सा बनाउन छलफल थाल्दा दरबार स्कुल रहेको ठाउँ पुरातात्विक महत्वको दाबी गर्दै पुरातत्व विभागले पुरानै शैलीमा बनाउनुपर्ने भन्दै अवरोध गरेको थियो। लामो बहसपछि विभागको स्वीकृतिमा पुरानो स्वरूप र उचाइ नबिग्रने गरी चारतले नयाँ भवन बनाउन सहमति जुटेको थियो। पुरानो भवन बनाउँदा शैक्षिक संस्था निर्माणका लागि आवश्यक सामग्री, कक्षा कोठाको आकार, भूकम्पमैत्री संरचनालगायत कुनै पनि मापदण्ड तोकिएका थिएनन् र भवन पनि मापदण्डअनुसार बनेको थिएन।

भूकम्पमा धेरै स्कुल भत्किएसँगै भवन निर्माण आचारसंहिता पालना गर्नुपर्ने भएकाले पुरातत्वको अडानअनुसार भवन बन्न नसक्ने भएपछि पुरानो भवनको आकार नमासिने गरी नयाँ भवन बनाउने सहमति जुटेको थियो। यी विषयमा सहमति जुटाउन धेरै समय लाग्दा गत जनवरीमै सुरु हुनुपर्ने भवन निर्माण अझै अघि बढेको छैन।

नक्सा तयार भएर स्वीकृतिका लागि काठमाडौं महानगरपालिकामा पेस गरिए पनि अन्डरग्राउन्ड पार्किङ हुनैपर्ने महानगरको अड्डीले निर्माण प्रक्रिया अवरुद्ध भएको हो। भवनको नक्सा तयार गर्दा महानगरका प्रतिनिधि पनि सहभागी थिए। नक्सा डिजाइनका क्रममा उनीहरूले कुनै असहमति नजनाएको भूकम्पमा भत्किएका विद्यालय निर्माणका लागि शिक्षा मन्त्रालयले गठन गरेको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले दाबी गरेको छ।

महानगरका प्रतिनिधिसमेत भएर तयार पारिएको नक्सा स्वीकृत हुने अपेक्षामा चिनियाँ दूतावासले निर्माण कम्पनीसमेत छनोट गरिसकेको थियो। महानगरले पार्किङसम्बन्धी झमेला झिकेपछि अहिले ठेकेदार कम्पनी काम गर्न नपाएर त्यसै बसेको छ। महानगरको प्रस्तावअनुसार अन्डरग्राउन्ड पार्किङ पनि बनाइदिन अर्थ मन्त्रालयले चिनियाँ दूतावासका प्रतिनिधिसँग अनुरोध गरेको थियो।

तर शैक्षिक संस्था र अस्पताल भवनमा अन्डरग्राउन्ड पार्किङ बनाउने आफूहरूको नीति नरहेकोले दरबार स्कुलमा पनि पार्किङ बनाउन नसक्ने दूतावासका प्रतिनिधिले बताएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक इमनारायण श्रेष्ठले जानकारी दिए। ‘धेरै छलफल भएर यहाँसम्म आइपुगेका हौं। दरबार स्कुल निर्माण गर्न नपाए चिनियाँले अन्यत्र बनाइदिने १५ वटा स्कुलबाट पनि हात झिक्ने संकेत दिइसकेका छन्’, निर्देशक श्रेष्ठले भने।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भविष्यमा पार्किङका लागि ठाउँ अभाव हुनसक्ने समस्या दृष्टिगत गर्दै स्कुलमा अन्डरग्राउन्ड पार्किङ बनाउनुपर्ने आफूहरूले अडान राखेको बताए। ‘स्कुल सकेसम्म छिटो बनाउनुपर्नेमा हामी सचेत छौं। तर उपत्यकामा निर्माण हुने हरेक नयाँ भवनमा अन्डरग्राउन्ड पार्किङ बनाउन भनिरहेका छौं’, उनले भने, ‘दरबार स्कुलमा अन्डरग्राउन्ड पार्किङ बनाउन पुरातात्विक पक्षले केही समस्या पर्दैन।’

भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले पनि विगतमा महानगरपालिकाका प्रतिनिधिले नक्सा बनाउँदा अन्डरग्राउन्ड पार्किङको विषय नउठाएको बताए। ‘तर चिनियाँले निर्माण सुरु गर्नै लागेका बेलामा महानगरपालिकाले यो विषय निकाल्दा पुनर्निर्माण अवरुद्ध भयो’, उनले भने। यो खबर हामीले आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिएका हौँ ।