अब पशुपति क्षेत्र मगन्तेरहित घोषणा

भक्तजन र पर्यटकहरुलाई व्यवधान पुगेको भन्दै काठमाडौंको पशुपतिनाथ क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पशुपतिनाथ क्षेत्रलाई मगन्तेरहित घोषणा गरेका हुन् ।

मन्त्री अधिकारीले पशुपतिनाथ क्षेत्रमात्र नभइ अरु धार्मिक क्षेत्रहरुलाई पनि मगन्तेरहित बनाउनुपर्ने बताए । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले पशुपतिनाथ क्षेत्रमा माग्दै हिँड्नेहरुलाई मानव सेवा आश्रममा राख्ने व्यवस्था मिलाइएको बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालभित्रै महानगरलाई मगन्तेरहित बनाउने उद्घोष गरे । महानगरपालिकाले वृद्धाश्रम बनाउने सोचाइ नराखेको भन्दै वृद्धवृद्धाहरुका लागि मनोरन्जन केन्द्र स्थापना गर्ने बताए ।

सो अवसरमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले पशुपति क्षेत्रमा यो वर्षको सुरुका दिनमा १५२ जनामात्रै मगन्ते रहेकामा शिवरात्रिपछि मगन्तेहरु बढेको बताए । उनले मगन्तेहरु चाडपर्वअनुसार फरक–फरक ठाउँमा पुग्ने गरेको पाइएको पनि बताए ।