नेपालगन्ज विमानस्थलको धावनमार्ग मर्मतमा ढिलाइ

पश्चिम नेपालको पर्यटन व्यवसाय प्रभावित

नेपालगन्ज विमानस्थलको धावनमार्गको मर्मत कार्यमा ढिलाइ हुँदा पश्चिम नेपालको पर्यटन व्यवसाय प्रभावित भएको छ। धावनमार्ग मर्मतका लागि दिउँसो ३ बजेपछि विमानस्थल बन्द गरिँदा नेपालगन्जबाट काठमाडौं लगायत ६ नम्बर प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुका यात्रुले सास्ती खेप्दै आएका छन्।

धावनमार्गको मर्मतको काम यसै वर्षको माघ २ गतेसम्ममा पूरा गर्नेगरी पप्पु लुम्बिनी एपेक्स जेभीले २०६३ पुस १७ गते ठेक्का लिएको थियो। ठेक्का अवधि सकिए पनि निर्माण भने ३० प्रतिशत मात्रै पूरा भएको छ। समयमै काम नसकेपछि नागरिक उड्डयन प्राधिकरणले निर्माण कम्पनीलाई थप ८८ दिनको अवधि थपेर आगामी चैत १५ सम्ममा निर्माण पूरा गर्ने समयसीमा दिएको छ। निर्माण कम्पनीले कामको रफ्तार बढाउन नसक्दा थपिएको समयमा पनि निर्माण कार्य पूरा हुनेमा आशंका छ।

चैत १५ सम्म निर्माण कार्य पूरा हुन नसकेमा नेपालगन्ज हुँदै कैलाश मानसरोवरको यात्रामा जाने पर्यटकहरु समेत समस्यामा पर्नेछन्। मानसरोवरको यात्रा बैशाखको दोस्रो सातादेखि सुरु हुन्छ। गत वर्ष नेपालगन्जबाट करिब १२ हजार पर्यटक हुम्लाको सिमीकोट हुँदै कैलाश मानसरोवरको यात्रामा गएका थिए। कैलाश मानसरोवरको दर्शन गर्न जाने यात्रुको चापका कारण नेपालगन्जमा विमानहरुको उडान–अवतरण करिब २२ प्रतिशतले वृद्धि भएको थियो। विगत २ वर्षदेखि नेपालगन्ज हुँदै कैलाश मानसरोवर जाने यात्रुहरुको संख्या बढेको प्राधिकरणले जनाएको छ।

मानसरोवर जाने पर्यटकको संख्या बढेसँगै नेपालगन्जबाट हुम्लाको सिमिकोटका लागि गोमा र तारा एयरले दैनिक ४ देखि १६ वटासम्म उडान गरेका थिए। विमानको चापलाई ध्यान दिँदै प्राधिकरणले गत माघ १६ गतेदेखि ३५ दिन अर्थात् फागुन १९ गतेसम्म दिउँसो ३ बजेपछि विमानस्थलमा उडान र अवतरण रोकेर धावनमार्गको मर्मत सुरु गरेको थियो।

३५ दिनमा निर्माणको काम नसकिएपछि थप २५ दिन म्याद थपेर कामलाई निरन्तरता दिइएको प्राधिकरणका आयोजना प्रमुख इञ्जिनियर योगेन्द्रराज शर्माले बताए। विमानस्थलको मर्मतको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सन प्रालि लक्ष्य अनुसार काम नगर्ने, गरेको काम पनि गुणस्तरीय नगर्ने र विभिन्न बहाना बनाएर सरकारी निकाय विरुद्ध मुद्दा मामिला गरेर राज्यको व्ययभार बढाउने जस्ता आरोप लागेको बदनाम कम्पनी हो। करिब १३ करोडको लागतमा हुन लागेको मर्मतको काम पप्पु लुम्बिनी एपेक्स जेभीले लिए पनि निर्माणको काम भने पप्पुले गरिरहेको छ।

निर्माण कम्पनीले समयमा काम नगर्दा चैत १५ गतेसम्म दिउँसो ३ बजेपछि नेपालगन्ज विमानस्थल बन्द हुने भएको छ। नेपालगन्ज विमानस्थलमा बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म उडान र अवतरण हुने गरेको थियो। नियमित मर्मत अन्र्तगत नै विमानस्थलको करिब १ हजार ५ सय मिटर लामो धावनमार्ग सहित विमानस्थलको करिब ५ हजार ८ सय क्विक मिटर क्षेत्रमा मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ।

विमानस्थलको काम समयमा पूरा नभएर लामो समयसम्म ३ बजेपछिका उडानहरु बन्द हुँदा नेपालगन्जबाट काठमाडौं लगायत ६ नम्बर प्रदेशका पहाडी जिल्लाहरुका जाने–आउने यात्रुहरु मारमा परेको गोरखा एयरका स्टेशन म्यानेजर उपेन्द्र श्रेष्ठले बताए। नेपालगन्जबाट काठमाडौंका लागि दैनिक आधा दर्जन तथा कर्णाली क्षेत्रमा एक दर्जनभन्दा बढी गरेर नेपालगन्ज विमानस्थलमा दैनिक करिब २० वटा उडान तथा अवतरण हुँदै आएको छ। नेपाललाइभबाट