कतारमा घरेलु कामदारसम्बन्धी नयाँ कानुन जारी

कतारले घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नयाँ कानुन जारी गरेको छ । नयाँ कानुनले नेपालले घरेलु कामदारको सुरक्षा लागि तयार गरेको घरेलु कामदार निर्देशिकाका अधिकांश विषयलाई सम्बोधन गरेको छ ।

कतारका अमिर सेख तमिम विन हमाद अल–थानीले मंगलबार ‘घरेलु कामदारको कानुन नम्बर १५–२०१७’ लालमोहर लगाई जारी गरेका हुन् । यो कानुनले घरेलु कामदारका रुपमा पुरुष र महिला दुवैलाई सम्बोधन गरेको छ ।

नयाँ कानुनमा घरेलु कामदारलाई वर्षमा तीन साताको उपदान दिनुपर्ने, सातामा एक दिन बिदा दिनुपर्ने र बिदामा काममा लगाउन नपाउने, बस्ने सुरक्षित आवास दिनुपर्ने, महिना समाप्त भएको तीन दिनभित्र बैंकबाट तलव दिनुपर्ने वा तलव दिएको रसिद दिनुपर्ने, कामदारलाई राम्रो व्यवहार गर्नुपर्ने, लत्ताकपडा र औषधिउपचारको सुविधा दिनुपर्ने उल्लेख छ ।

नयाँ कानुन जारी भएपछि उँटको हेरचाह, खेतीकिसानी गर्ने, घरको ड्राइभर, घरमा खाना पकाउने र हेराली, र बगैँचामा काम गर्ने नेपालीसहित विदेशी कामदार लाभान्वित हुने भएका छन् । –कान्तिपुर दैनिकबाट