निर्दोष साबित भएका नेपाली किन साउदी जेलमा ?

हत्या आरोपमा तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका एक नेपाली निर्दोष साबित भएको तीन महिना बित्दा पनि जेलमुक्त हुन सकेका छैनन् । चितवन खैरहनीका सोमप्रसाद सिलवालको हत्या आरोपमा अनुसन्धानका लागि पक्राउ परेका चितवनकै टीकाराम सापकोटालाई त्यहाँको अदालतले निर्दोष घोषणा गरे पनि थप प्रक्रियामा ढिलासुस्ती हुँदा रिहा हुन सकेका छैनन् ।

सोमप्रसादको हत्या आरोपमा तीन वर्षअघि प्युठानका सतिउल्लाह मियाँसँगै टीकाराम पनि पक्राउ परेका थिए । मियाँले हत्या आफूले मात्र गरेको स्वीकार गरेपछि गत १७ वैशाखमा साउदीको तल्लो अदालतले टीकारामलाई निर्दोष घोषणा गरेको थियो । तर, तल्लो अदालतको फैसला अपिल कोर्टले सदर गरिनसकेकाले उनी अझै रिहा हुन सकेका छैनन् ।

साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्यदूत रेवतीरमण पौडेलका अनुसार तल्लो अदालतले गरेको फैसला अपिल कोर्टले सदर गरेपछि मात्रै कार्यान्वयनमा आउँछ । ‘प्युठानका सतिउल्लाहले ब्लडमनी आफूले मात्र तिर्न नपरोस् भनेर टीकारामले पनि हत्या गरेको हो भनेका रहेछन् । उनले पछिल्लो बयानमा टीकाराम निर्दोष रहेको भनेर स्विकारेका छन् । तल्लो अदालतले टीकारामको पक्षमा फैसला दिएको छ, अपिल कोर्टले तल्लो अदालतको निर्णय सदर गरेपछि कार्यान्वयनमा आउँछ,’ उनले भने ।

साउदीमा अहिले हजको समय रहेको र अपिल कोर्टका एक न्यायाधीश बिदामा रहेकाले टीकाराम निर्दोष भएको निर्णय सदर भइनसकेको महावाणिज्यदूत पौडेलले बताए । ‘अहिले यहाँ हजको समय छ । मुस्लिम समुदायको तीर्थयात्राको समय हो । अगस्ट पहिलो हप्तातिर हामी अपिल कोर्टका न्यायाधीशसमक्ष कुरा गर्न जान्छौँ । उहाँ छुट्नलाई अब धेरै समय नलाग्ने देखिन्छ । तर, अपिल कोर्टले तल्लो अदालतको निर्णय मान्नुपर्छ,’ उनले भने ।

सोही घटनाको शव ३ वर्षदेखि अलपत्र
मृतक सोमप्रसादका दाइ नवदीप सिलवालका अनुसार हत्या भएको तीन वर्ष पूरा भयो । उनको कंकाल पनि नेपाल ल्याउन सकिएको छैन । जसले गर्दा धार्मिक परम्पराअनुसार परिवारले दाहसंस्कार पनि गर्न पाएको छैन । ‘घरमा बुढा बाआमा छन् । भाइ नेपाल फर्किन एक महिना बाँकी थियो । नेपाल आएपछि उसको विवाह गरिदिने सोच थियो । उतै हत्या गरिदिए,’ नवदीपले भने । सोमप्रसादको जलेको शरीरको कंकाल संकलन गरेर साउदीको अस्पतालमा राखिएको छ । पटक–पटक पहल गर्दा पनि कंकालसमेत नेपाल ल्याउन नसकेको नवदीपले बताए ।

यसरी भएको थियो घटना
चितवनको खैरहनी नगरपालिका–१३ का सोमप्रसाद सिलवाल पाँच वर्षअघि रोजगारीका लागि साउदी अरब गए । उनको भिसाअनुसार दुई वर्ष काम सकेर नेपाल फर्किन एक महिना समय बाँकी थियो । एक दिन साँझ सोमप्रसाद, टीकाराम सापकोटा र प्युठानका सतिउल्लाह मियाँले सँगै बसेर मदिरा सेवन गरे । व्यक्तिगत रिसइबीका कारण त्यो मध्यरात प्युठानका सतिउल्लाहले सोमप्रसादको हत्या गरेर मध्य मरुभूमिमा लगेर जलाए । तीनैजना ड्राइभिङ भिसामै साउदी पुगेकाले सतिउल्लाहले आफ्नै गाडीमा राखेर सोमप्रसादको शव मरुभूमि लगेका थिए । सो घटनामा सहयोग रहेको आशंकामा प्रहरीले टीकारामलाई पनि पक्राउ गरेर जेलमा राख्यो । सतिउल्लाहको पछिल्लो बयानका आधारमा तल्लो अदालतले टीकाराम निर्दोष रहेको फैसला दिएको छ । उनी निर्दोष साबित भए पनि तीन वर्ष जेल राखिएकोमा क्षतिपूर्ति पाउने–नपाउने भन्ने अझै स्पष्ट भएको छैन ।नयाँ पत्रिकाबाट ।