उपत्यकाबासीको बिजोग, चैबिसै घण्टा स्वास्थ्यका लागि खतरा

काठमाडौ ,गाडीमा सवार यात्रुहरू धुलाम्य छन् । सर्जिकल माक्स लगाएका पैदल यात्रुहरू बर्षा नहुँदा पनि हिलाम्मे हुँदै फुटपाथमा हिडिरहेका छन्। ठूला-ठूला खाल्टा परेको सडकमा सवारी साधन जोखिमपूर्ण रूपले कुदिरहेका छन् । ग्रामिण क्षेत्रका कच्ची सडकमा पनि देख्न गाह्रो पर्ने यस्तो दृश्य हो, गौशालादेखि चावहिल गोपीकृष्णसम्मको सडक ।

मेलम्ची खानेपानी आयोजनाको बहानामा यो सडक जीर्ण हुँदा स्थानिय र यात्रुहरू नराम्रो सास्ती खेप्न बाध्य भएका छन् । बच्चालाई विद्यालय पुर्याउन दिनहुँ ओहोरदोहोर गर्दा धुलो र हिलोबाट हैरान बनेकी काठमाडौं बौद्धकी अनुषा मगरलाई यो बाटो भएर हिड्न नपरे हुदोँ हो जस्तो भएको छ । कच्ची सडकमा भन्दा यो सडकको यात्रा अझ कष्टकर भएको उनले दुखेसो पोखिन् । दशक अगाडिदेखि जोरपाटीदेखि पशुपतिक्षेत्रसम्म टयाक्सी चलाउँदै आएका स्वयम्बूका दिनेश खड्की भन्छन्, ‘सडकमा ठूला खाल्टा र हिलो भएकाले गाडी फसेर आपत नै पर्छ ।

यो सडक भएर दैनिक १० हजार जति ठूला साना सवारी साधन गुड्छन् । विश्वसम्पदा सूचीमा परेको पशुपतिनाथसम्म पुग्ने प्रवेशद्धार र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पुग्ने मुख्य मार्ग पनि भएकाले सडकको विजोग अवस्थाले सबैको ध्यान खिचेको छ । पर्यटकले समेत यो सडकको अवस्थाप्रति गुनासो गर्ने गरेका छन् ।

दुई हप्ताका लागि हालै नेपाल आएका रसियन पर्यटक सलभ जोइनले विश्वसम्पदामा सूचीकृत पशुपतिनाथ अवलोकन गर्न यही सडक हुँदै जाँदा हिलो र धुलोका साथै लामो जाम खेप्नु परेकाले दिक्क लागेको अनुभव सुनाए । पर्यटकीय पशुपतिनाथ मन्दिरको शोभालाई यो सडकले मेटाउने काम गरिरहेकोमा उनले चिन्ता प्रकट गरे ।

३० चैतमा प्रधानमन्त्री पुष्पकमल दाहालले कोटेश्वरदेखि कलंकीसम्मको सडकको अनुगमन गरी धुलो नियन्त्रण गर्न निर्देशन पनि दिएका थिए । व्यवस्थापिका संसद्को सुशासन समितिले उपत्यकामा सडक र वायु प्रदूषणको अवस्था चिन्ताजनक भएको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि उनी सडक अवलोकन गर्न निस्केका थिए । तर यो सडकको अबस्था सुधार्न भने कतैबाट पहल भएको छैन । यो क्षेत्रका सांसद तथा हाल स्वास्थ्य मन्त्री रहेका गगन थापा समेत धेरै जनताले सास्ती खेप्दा पनि यो सडकबारे मौन बसेको स्थानियहरूले गुनासो गरिरहेका छन् । अहिलेसम्म सरकार र राजनीतिक दल दुवैको नजर यो सडक माथि नपरेको स्थानिय शेखर राईले बताए ।

यो सडक यात्रा गर्नेहरु झै छेउछाउका व्यापारीहरू पनि धुलोले हैरान छन् । चावहिल चोकमा फर्निचरपसल गरिरहेका यादव हुमागाइँले पसल भित्र आएको धुलो सफा गरेरै हैरान भएको बताए ।‘धुलो खाँएरै मरिने हो कि भन्ने चिन्ता लाग्न थालिसक्यो, उनले भने । करीब दुई किमी लामो यो सडक तीन महिना यता मेलम्ची खानेपानी आयोजनाले पानीको पाइप विछ्याउन सुरू गरेसँगै स्थानिय बासिन्दा बाटोमा आवतजावत गर्ने सर्वसाधारणहरू नराम्रोसँग प्रभावित भएका हुन् ।

पाइप खनेको ठाउँमा राम्रोसँग पुर्ने र तुरुन्तै अस्थायी कालोपत्रे नगर्दा यो खण्डको सडक यात्रा जोखिमपूर्ण बनेको छ । सडक बीचमा ठूला खाडल परेका छन् । ती खाडकलमा बेला बेलामा गाडी फस्ने कारण लामो जाम हुँदा दुई किमी लामो यो सडक पार गर्न यात्रुलाई एक घण्टा लाग्ने गरेको छ। सडकमा धुलो र हिलोका कारण समस्यामा परेको भन्दै स्थानिय बासिन्दाले गत हप्ता सडक जाम नै गरे । त्यस पछि मेलम्ची खानेपानी आयोजनाले बाटोमा पानी छर्कियो पनि । तर अहिले सडकमा नियमित पानी नर्छकदा धुलोले वरपर कुइरीमण्डल भएपछि स्थानिय आक्रोषित छन् ।

यस क्षेत्रका सांसद एवं स्वास्थ्यमन्त्री गगन थापासमेत जनताले सास्ती खेप्दा पनि मौन बसेको स्थानीयले गुनासो गरेका छन् ।
ठेकेदारले स्थायिसँग बैशाखको पहिलो हप्तासम्म पाइप विछ्याएर सडक अस्थायी पीच पनि गर्ने सम्झौता गरेको थियो। तर त्यो सम्झौता अनुरूप काम गर्न ठेकेदारबाटै ढिलाइ भएको छ । स्थानिय शेखर राई काममा प्राविधिक हिसाबले ठेकेदार गैरजिम्मेवार भएर काम गरेकाले यस्तो समस्या उत्पन्न भएको बताए । ठेकेदारलाई जिम्मेवार ढंगबाट काम गराउन नसक्नुमा सरकारी संयन्त्रकै कमजोरी भएको उनी बताउँछन् ।

ट्राफिक प्रहरी कार्यालय गौशालाका प्रहरी नवराज बस्नेत सर्वसाधरण भन्दा ट्राफिक प्रहरीले धेरै सास्ती खेप्नु परेको गुनासो गर्दछन् ।‘डियुटीबाट धुलाम्य भएर आउँदा साथीले समेत चिन्दैनन्, सडकका कारण सबैले सास्ती खेप्नु परे पनि छिटो सुधार गर्नमा कसलाई चासो छैन उनले गुनासो पोखे ।

मेलम्चीको पाइप विछ्याउनका लागि सडक खन्दा यो क्षेत्रमा अहिले ढल र खानेपानीको पाइपसमेत फुटेकाले सुख्खा मौसममा पनि सडक हिलाम्मे बनाउन सहयोग पुगिरहेको छ। खानेपानीको पाइप फुटेका कारण यस क्षेत्रमा धारामा पानी नआउँदा स्थानियहरू पानीको समस्या पनि खेप्नु परेको छ। यो क्षेत्रको ढलको निकास बन्द छ । निकास बन्द भएकाले आकासबाट ठूलो पानी परेको खण्डमा सडक छेउका घर र पसल डुबान पर्ने चिन्ता पनि स्थानियलाई भएको छ ।

खानेपानी तथा सरसफाई मन्त्रालयका प्रवक्ता शंकर प्रसाद सुवेदी जनस्वास्थ्यमा असर नपर्ने गरी काम गर्न आयोजना कार्यान्वयन निर्देशनालय, र मलेम्ची खानेपानी पानी आपूर्ति विकास बोर्डलाई पटक- पटक निर्देशन दिएको बताए । ठेक्केदारबाटै वद्मासी भएपनि आयोजनाले कारर्वाही गर्न नसकेको उनी बताउँछन् ।

खानेपानीका पाइप विछ्याउन खनिएका खाड्लहरू राम्रोसँग नपुर्रदै १२ टनदेखि १६ टनसम्मका भारका गाडी गुडेका कारण सडकमा ठूला खाल्टाहरु बनेका हुन् । जसकारण दुर्घटना बढेको छ । यो क्षेत्रमा गत तीन महिनामा ५८ वटा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच दर्जन घाइते भएका छन्। ‘नाजुक सडक भएकाले दुर्घटनामा बढी मानवीय क्षति भएका छ । ट्राफिक प्रहरी नवराज बस्नेतले भने।अन्नपूर्णपोष्ट बाट