बेलायती महारानीकाे सहानुभुति पीडितमाथि

लन्डन, १० चैत । बेलायती महारानी एलिजावेथ द्वितीयले बुधबार बेलायती संसदमा भएको आक्रमणबाट पीडित सबैप्रति बिहीबार ‘गहिरो समवेदना’ व्यक्त गर्नुभएको छ ।

बेलायती महारानीले घटनालाई नृशंस हिंसा भएको प्रतिक्रिया दिँदै उक्त घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

“म यस दुःखद घडीमा मृतक आत्माको शान्तिका लागि र घटनामा घाइते भएका पीडित र उनीहरूका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु,” महारानी एलिजावेथ द्वितीयले प्रहरीलाई बुधबारको निन्दनीय हिंसाबारे दिएको पहिलो प्रतिक्रियामा बताउनुभएको छ ।

बुधबार राति एक अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहार गर्दा एक जना सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु हुनुका साथै करिब ४० जना घाइते भएको बेलायती प्रहरीले पुष्टि गरेको छ ।

नेपाली समयअनुसार बुधबार राति मध्य लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर उक्त आक्रमण र हताहतीका घटना भएको लन्डन महानगरिय प्रहरी सहायक आयुक्त मार्क रोलेले जानकारी गराउनुभएको थियो ।