मृत्युकाे खाडलबाट ब्युझीएर बाँचेका यी मान्छे

दीपबहादुर घर्ती

जाजरकोट,  सुन्दा धेरैलाई अपत्यारिलो जस्तो लाग्न सक्छ । मारेर चिहान खाडलमा फालिएका मान्छे ब्युझीएर घर फर्केको सम्भवत संसारकै दुलर्भ घटना हुनु पर्छ । जाजरकोट जुगाथापाचौर–९ नाहाडाका मानबहादुर बुढा (उपहार) २०५९ साल कार्तिक १८ गते तत्कालिन शाही सेनाद्धारा माओवादीको आरोपमा गोली हानी हत्या गरेर फालिएको मृत्यु खाडलवाट ब्युझीएर घरफर्केका हुन् ।

सिमा–९ स्यापीवाट तत्कालिन शाहीसेनाले आफुसंंगै जुगाथाचौर–७ भिउसका प्रेमबहादुर कठायत (प्रदेशी), सिमा–२ नेपाका मानबहादुर भण्डारी (धुर्व) र खलंगा–७ डिङ्गाकि प्रणालीलाई माओवादीको आरोपमा गिरिफ्तार गरेर आँखामा पट्टी बाँधेको मानबहादुर बुढाले जानकारी दिए । गिरिफ्तारपछि आँखामा पट्टी बाँधिएका चारै जनालाई सिमाकै जंगलमा लिएर चरम यातना दिएको पिडालाई सम्झदै मानबहादुर बुढाले भने–“सेनाले हामीलाई हतियारको कुन्दाले शरीर लिलाम हुनेगरि यातना दियो, यातनाका कारण शरीर आफ्नो हो कि अरु कसैको हो भन्ने छुट्याउन नसक्ने भई सकेको थियो, प्रणालीलाई सेनाले पालो लगाएर गरेको बलत्कारको पिडालाई सहन नसकेर निकालेको चित्कारपूर्ण आहवाज सुनिन्थ्यो, अन्ततः चारै जनालाई लाईन लगाएर गोली हान्यो ।”

एउटै डोरीमा बाँधिएका चारैजनालाई क्रमशः सेनाले गोली हान्दा अन्तिम गोलीको सिकार भएका मानबहादुर बुढाको छातीमै ताकेको निसाना देब्रे कममा लाग्यो । चरम यातनावाट बेहोस भईसकेका मानबहादुर सेनाको गोली लागेपछि आफु केहि थाहा नपाउने अबस्थामा पुगेको वताए । गोली लागेर ढलिसकेका मानबहादुर बुढाले भने–“धेरै लामो समयपछि ब्युझीदा त चारैजनालाई एउटै खाल्डोमा हालेर माटो र स्याउलाले पुरेर त्यहावाट सेना हिडि सकेको रहेछ, रगतले भिजेको शरिर मात्र नभएर गोलीको पिडाले देब्रे हात चलाउन नसक्ने अबस्थामा पुगेको थिए, चलाउन नसकिने शरिरको आधा भाग त्यहि छोडेर तत्काल घर फर्किर सधैभरि शिरमा हात राखेर आर्शीवाद दिने बुवा र स्नेहीता प्रदान गरि राख्ने आमासंग भेट्न मन लाग्यो, धेरै लामो प्रयास पछि गोली लागेको देब्रे हातलाई दाया हातले उचालेरै भए पनि घर पुगे ।”
आफुसंगै एउटै डोरीमा बाँधेर सेनाको गोली लागेर मृत्यु भईसकेका अरु तीनजना साथीहरु त्यहि मृत्यु खाडलमै छोडेर आफु घर फर्केको घटनालाई सम्झेर अहिले पनि आफुलाई पिडाको महसुस हुने गरेको बुढाले वताए । मृत्युसंग पनि बिजय हाशिल गरे जस्तै गरि घर फर्केका मानबहादुर उपचार गरेर गोली लागेको घाउँ सञ्चो गर्न सफल भए ।

२०४४ साल भदौ १५ गते जन्मेका मानबहादुर बाल्यकाल देखि नै माओवादी जनयुद्ध प्रति आस्था राख्दै आएका व्यक्ति हुन् । २०५९ सालको भदौ देखि नै पुर्ण रुपमा माओवादी जनयुद्धमा लागेका मानबहादुर सेनाले हानेको गोलीको घाउँ सन्चो भएपछि माओवादी जनमुक्ति सेनामा भर्ति भए । जनमुक्ति सेनाको ब्यारेकमा बसेका मानबहादुर वुढा अन्ततः ५ लाख रुपैमा बुझेर बर्हिगर्मित भए । अशक्त घाईते मानबहादुरले जीवनमा अरु केही गर्न सक्ने अबस्था देखेनन् । उनले सुर्खेक जिल्लाको भेरीगंगा नगरपालीका–११ छिन्चुमा रक्सिको पसल सञ्चालन गर्न बाध्य भए । हाल उनी बिहान देखि बेलुका सम्म रक्सि पसलमा बसेर दिन बिताई रहेका छन् । पसल चलाउनका लागि बुढालाई उनकी स्वास्नी पवित्रा बुढा मगरले साथ दिई रहेको जानकारी दिए । पसलवाट भएको नाफावाटै मात्र दुई छोरालाई पढाउन र लोग्ने स्वास्नीको जीवन धान्न निकै कठिन भएको मानबहादुरले वताई रहेका छन् ।

रक्सीको दैनिक कारोवारवाट ३ सय भन्दा वढी नाफा नहुने बुढाले वताए । दैनिक तीन सयको आम्दानीले छिन्चुमा कोठा भाडामा लिएर परिवारको पालन पोषण गर्न र छोराहरुको पढाई धान्न निकै जटिल भईरहेको वताए । घाईते अबस्थामा रहेका मानबहादुरले पसल वाहेकको अन्य काम पनि आफु गर्न नसक्ने वताए । उनका दुई छोराहरुमा जेठो छोराको नाम युवराज बिसी हो भने, कान्छो छोराको नाम बिपीन बिसी हो । दुवै दाजुभाई छिन्चुमा रहेको प्यारागल्याडिङ मनन्टेसोरी बोर्डिङमा एल केजीमा पढिरहेका छन् । बुवा बलबहादुर वुढा र आमा बृद्धी बुढाको काईलो छोराका रुपमा रहेका मानबहादुर बुढाको सम्पुर्ण घरपरिवार युद्धताका माओवादी हुन् । उनका माईलो दाई प्रतिकले कैलालीको पाण्डुन दोहोर भिडन्तमा शाहदत प्राप्त गरि सकेका थिए ।