इन्टरनेटको लत डिप्रेसनभन्दा खतरनाक

पूर्वी चीनको एडिक्सन ट्रिटमेन्ट सेन्टरमा यतिबेला ६ हजारभन्दा बढी इन्टरनेटका लत लागेकाहरु उपचाररत् छन्। तीमध्ये अधिकांश किशोरकिशोरी छन्। तिनलाई लत छुटाउन विद्युतीय सक थेरापीसमेत दिने गरिन्छ।

यस्ता लतीहरुलाई उपचार गर्दा दिइने विद्युतीय सकका कारण केहीलाई त लामो समयसम्म मानसिक विक्षिप्तता रहिरहने देखिएको छ । यसअघि इन्टरनेट लतसम्बन्धी चीनमा नयाँ कानुन बनाइएको थियो । कानुनको धेरैले स्वागत गरेका थिए । यसको मूल कारण चाहिँ युवापुस्तामाझ बढ्दो लतबाट आजित अभिभावक नै थिए ।

तर उपचारबाट फर्किएकाहरुमा घुलमिल नहुने, कुराकानी नगर्ने, घरबाट बाहिर ननिस्कनेजस्ता समस्या देखिएका छन् । अस्पताल र चिकित्सक भन्ने शब्द सुन्नेबित्तिकै उनीहरुमा छटपटी सुरु हुनेसमेत केहीले बताएका छन् ।

चिनियाँ परम्परामा घरको मामिलामा प्रायः बाहिरी चासोलाई उचित मानिदैन । यस्तो अवस्थामा घरमा सन्तानमाथि अभिभावकले कतिपय अवस्थामा अन्याय गरे पनि प्रहरीले कुनै पनि किसिमको चियो गर्न पाउँदैन । यस्तो अवस्थामा प्रहरी–प्रशासनबाटै कतिपय कुराहरु मिलाउनुको साटो वा डर देखाउनुभन्दा अभिभावकले सिधै थेरोपी थलोमा पु¥याउने गरेका छन् । तर थेरापी थलोमा जुन किसिमले उपचार गरिन्छ, उपचारको शैली र उपायबारे भने लामो समयदेखि चासो व्यक्त गरिँदै आएको छ ।

इन्टरनेटको लत कसरी छुटाउने र दिनमा कति घण्टा इन्टरनेटमा बस्दा चाहिँ लत हुँदैन भन्नेबारे कानुन बनाउन चासो जागेको भए पनि कति समयावधिलाई लत मान्ने भन्नेबारे अझै एक मत हुन सकेका छैनन्। कतिपय इन्टरनेट गेम उत्पादक कम्पनीले आफ्नो गेम खेल्नलाई निश्चित उमेर पार गरेको हुनुपर्ने, वास्तविक नाउँमा मात्र गेम खेल्न पाइने, निश्चित समयावधिपछि गेम आफैँ बन्द हुने वा निश्चित लेभलसम्म मात्र खेल्न पाइने जस्ता नियम लागू गराएका छन् ।

कानुनी रुपमा कति घण्टा मात्र इन्टरनेट गेम खेल्न पाइने भन्नेबारे कानुन बनिसकेको छैन तर मध्यरातदेखि बिहान ८ बजेसम्म यस्ता गेम खेल्न नपाइने भनी प्रतिबन्ध नै लगाइएको छ । यस्तो नियमविरुद्ध सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

चीन मात्र होइन, हालै नयाँ दिल्लीमा एक युवकलाई इन्टरनेट गेमको लत लागेको र त्यसलाई हटाउन अस्पताल नै भर्ती गराइएको इन्डियन एक्सप्रेसले जनाएको छ । दैनिक आठ घण्टा गेम खेल्ने र १२ घण्टासम्म तन्किन थालेपछि ती युवकको सोच, सुतने समय र परिवारसँग कुराकानी नै प्रभावित बन्न पुगेको थियो । उनी ९ कक्षाका विद्यार्थी रहेको बताइन्छ । तिनलाई कस्तो उपचार गरिँदैछ भन्नेबारे भने जानकारी दिइएको छैन ।

नयाँ दिल्लीको सबैभन्दा ठूलो सरकारी अस्पताल एम्समा इन्टरनेटको लतीहरुलाईलाई विशेष मनोरोग सम्बन्धी ओपिडी सुरु गरिएको छ । यसमा सोसल मिडिया, अनलाइन गेम र इन्टरनेटको लत लाग्नेहरुलाई उपचार गरिन्छ ।

चिकित्सकहरुका अनुसार विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई इन्टरनेटका माध्यमबाट विविध किसिमका मनोरोगका समस्या झेलिरहेकाहरुको उपचार गर्ने गरिन्छ ।

एम्सका बिहेभियरियल एडिक्सन क्लिनिकका प्रमुख डा. यतनपाल सिंह बलहाराले टाइम्स अफ इन्डियालाई बताएअनुसार इन्टरनेटका लतीहरुलाई डिप्रेसन, चिन्ता, लागू औषधको कुलतजस्ता समस्याजस्तै उपचार गर्ने गरिन्छ ।

विभिन्न समाचार स्रोत