ठाँइला ससुराबाट मन्त्री ज्वाँइलार्इ यस्ताे सास्ती

गगन थापालाई अहिले ठाँइला ससुरा भारी बनेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गत कारागारका कैदी–बन्दीको स्वास्थ्य परीक्षण गर्ने डा.केदारनरसिंह केसी मन्त्रालयका कुनै शाखा, महाशाखा खालि हुनासाथ इच्छुक कर्मचारी बोकेर ज्वाइँकहाँ जान्छन् । ससुरा हुन्, प्याच्च केही भनिहाल्न नमिल्ने ! तर, काम पनि गरिहाल्नेखाले लैजाँदैनन् । स्वास्थ्य सेवा विभागको महानिर्देशक डा.पुष्पा चौधरी त्यहाँबाट हट्ने हल्ला हुनासाथ अर्को हल्ला चल्यो, केदारले ज्वाइँ देखाउँदै एकजनासँग डेढ करोडको डिल गरिसके । हल्ला सुनेलगत्तै ससुरा आइपुगे विभागको महानिर्देशक सिफारिस गर्दै सहसचिव डा.नरेशप्रताप केसीका साथमा । तर, गगनले डा.नरेशलाई संगीनी सुईं लगाउने परिवार स्वास्थ्य महाशाखामा सरुवा गरिदिए ।

उनी पहिला व्यवस्थापन महाशाखामा थिए । अख्तियारबाट मुद्दा लागेका व्यक्ति पनि हुन् । खरिद महाशाखामा हुँदा तत्कालिन महानिर्देशक मिङ्मार ग्याल्जेन शेर्पाले मिस प्रस्टोल नामक औषधी खरिदमा भ्रष्टाचार गर्दा त्यसमा डा.नरेशको पनि संलग्नता छ भनी अख्तियारले मुद्दा चलाएको हो । केदारनरसिंहले पहिला डा.राजेन्द्र पन्तलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक सिफारिस गरेका थिए । तर, गगनले नरुचाएपछि डा.विकास लामिछानेको सिफारिस गरे ।

त्यो पनि गगनले मानेनन् । उता, स्वस्थ्य सेवा विभागकी महानिर्देशक पुष्पा चौधरीले त्यहाँबाट हट्नुअघि नै मातहतका कार्यालयमा गर्नुपर्ने सरुवा भ्याइसकिन् । मन्त्रीलाई ससुराले दुःख दिएजस्तै पुष्पालाई श्रीमान् डा.रमणकुमार चौधरीले दुःख दिए । तर, गर्नुपर्ने काम भने सिध्याएरै छाडिन् । श्रीमान् भारतीय दूतावासमा कार्यरत छन् । उनी वीर अस्पतालका पूर्व निर्देशक पनि हुन् । पुष्पाचाहिँ भारत, झारखण्डमा जन्मिएकी अंगीकृत नागरिक हुन् ।