सकसमा दाहाल- देउवा संशोधन विधेयक सरकारलाई निल्नु न ओकल्नु

काठमाडौं ,मधेसी मोर्चाको मागलाई सम्वोधन गर्नभन्दै विपक्षीको विरोधका वावजुद संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक सरकारलाई निल्नु न ओकल्नु भएको छ ।दुई तिहाई बहुमतबाट पारित गराउनु पर्ने संशोधन विधेयकमा सो संख्या केही गर्दा पनि अपुग हुने भएपछि सरकार सकसमा परेको हो । सरकारले संसद्मा संगै टेबुल गरेको निर्वाचनसम्वन्धि विधेयकमा छलफल सुरु भए पनि संशोधन विधेयक भने पछि पारेको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवाले संशोधन पास हुनेमा ढुक्क रहेको अभिव्यक्ति दिइरहेकामा विपक्षले उनी कसैलाई झुक्याइरहेको बताउँछन् । विपक्षमा एकतिहाई बढीले संसद्मा उठेरै एकमहिनादेखि विरोध जनाइरहेको बेला दुइतिहाईका लागि ढुक्क छु भन्नु दिउसै वेवकुफ बनाउनु भएको विपक्षको आरोप छ ।

एमालेनै संशोधनका पक्षमा गए मात्र सत्तापक्षको दुइतिहाई पुग्ने एमालेका नेताहरू बताउँछन् । ‘खोई के सपना देखेर उनी ढुक्क भएका हुन थाहा भएन’ एमालेका पोलिटब्युरो सदस्य तथा धनुषा क्षेत्रनं. ७ का निर्वाचित सांसद् सशुघन महतो भन्छन् ‘संशोधन कुनै हालतमा पास हुन नहुनेमा एमाले एकमत छ ।’

यो मधेसी जनताको माग नभएको बताउँदै उनी भन्छन् ‘अहिलेको संशोधन पास भए मधेसी जनतालाई घाटा हुन्छ ।’ अहिलेनै आयातित मधेसीका कारण रैथाने मधेसी अल्पमतमा परिसकेका छन् यो संशोधनले झन् यसलाई वढावा दिन्छ भन्ने तर्क गर्छन् लोकतानित्रक मधेसी मोर्चाका अध्यक्ष रघुविर महासेठ ।

विपक्षमा १ सय ९७ सांसद् भए मात्र पनि संशोधनका पक्षमा दुईतिहाई पुग्दैन । जबकी अहिले संशोधन टेबुलनै गर्न नदिनेमै २ सय १ सांसद् थिए । कथम् कदाचित एमाले संशोधनको पक्षमा गए पनि माले, नेमकिपा र राष्ट्रिय जनमोर्चा विपक्षमै रहनेछन् । संशोधनको विरोधमा ती पार्टीहरू एमालेभन्दा कडा छन् । एमालेसहित ती पार्टी जोड्दा १ सय ९४ सांसद् पुग्छन् । ती वाहेक शिवलाल थापाले नेतृत्व गरेको जनमुक्ति पार्टीसँग २ सांसद छन्, जो लामो समयदेखि एमालेसँगैको सहकार्यमा छन् ।

केपी ओलीको नेतृत्वमा मन्त्री समेत भएका थापाले कुनै हालतमा एमालेसँग गठबन्धन तोड्ने पक्षमा नरहेको बताइरहेका छन् । जनजाति बहुल उक्त पार्टी मधेसलाई खुसी पार्न दक्षिणतिरबाट प्रस्ताव आएको भन्दै सुरुदेखि नै विरोधमा छ । यति गर्दा विपक्षी गठबन्धनसँग १ सय ९६ मत सुरक्षित हुन्छ ।

नेपाः पार्टीका लक्ष्मण राजबंशी स्थापनाकालीन कम्युनिस्ट कार्यकर्ता हुन् र देशलाई कमजोर बनाउने प्रस्तावमा बुढेशकालमा हस्ताक्षर गर्दिनँ भन्दै उनले त्यसका विपक्षमा कडा अडान राखिरहेका छन् ।

मधेस समता पार्टीका मेघराज ने्पाली निषाध चाहिँ मधेसी मोर्चाका कडा आलोचक छन् । केपी ओली र सुशील कोइरालाबीच प्रधानमन्त्रीको चुनाव हुने बेलामा मृगौलाको उपचार गराइरहेका उनले संसद्मा आएर ओलीलाई मत हालेका थिए र कोइरालालाई मत हाल्न आफूलाई भारतीय दूताबासले आर्थिक प्रलोभन देखाएको सार्वजनिक गरेका थिए । उनी अर्को गठबन्धनमा जान सक्ने अवस्था नै छैन ।

दुई सांसद भएको नेपाल परिवार दल र एक सांसद भएका विशेन्द्र पासवान पनि विपक्षी गठबन्धनमा आएर भाषण गरिरहेका छन् । यस्तोमा रह्यो खरिद विक्रिका कुरा ।

एकातिर यस्तो स्थिति छ भने अर्कोतिर पक्षापक्षमै संशोधनको विरोध छ । बुधबार मात्र कांग्रेस नेता तथा सांसद् चन्द्र भण्डारी ५ नम्वर प्रदेशमा भइरहेको आन्दोलनमा सहभागि हुँदै मतदान भए विपक्षमा भोट हाल्ने बताएका छन् । माओवादी केन्द्रकै टोपबहादुर

रायमाझी यसैगरी आफ्नो पार्टीलाई खुल्लै हाँक दिइरहेका छन् । दुईतिहाई पुर्याउन विपक्षलाई फुटाउन खोज्दा सत्तापक्षलाई ‘भूईको टिप्न खोज्दा पोल्टाको खस्ने’ स्थिति छ ।