अर्घाखाँचीवासीले उर्जामन्त्रीलाई दिए दनक, ढुंगामुढापछी प्रहरीले जोगायो

सन्धिखर्कमा आजदेखि शुरु हुन लागेको अर्घाखाँची महोत्सवको उदघाटन सत्रमा ढुंगा प्रहार भएपछि उर्जा मन्त्री जनार्दन शर्मा सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले ‘५ नम्बर टुक्रेमा केही हुँदैन’ भनेपछि समारोहमा सहभागी केही युवाहरुले ढुगांमुढा गरेका थिए ।

५ नम्बर प्रदेश विभाजन बिरुद्द आक्रोशित बनेको जनसमुदायले मन्त्री जनार्दन शर्मालाई लक्षित गरी ढुंगामुढा प्रहार गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री जनार्दन शर्मा लगायतका नेताहरुलाई प्रहरीले जोगाएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो ।

कार्यक्रममा बोल्ने क्रममा माओवादी नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेश विभाजन हुँदैमा केही पनि असर नपर्ने बताएपछि स्थानीयबासीले मञ्चमा ढुंगामुढा सुरु गरेका थिए । ढुंगामुढा हुन थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ भने महोत्सव उदघाटन कार्यक्रम वीचैमा स्थगित भएको छ ।

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग पार्ने गरी सरकारले संविधान संशोधन विधेयक दर्ता गरेलगत्तै देखि अर्घाखाँची लामो समय बन्द भएको थियो । परिस्थिति असहज बन्दै गएपछि माओवादी नेता डिलाराम आचार्यले आफुले बोलेका शब्दहरु फिर्ता लिएको बताएका छन् । उनले आफू पनि अर्घाखाँचीबासी भएको र जिल्लाबासीहरु सँग टाढा हुन नसक्ने भन्दै क्षमा याचना गरेपछि परिस्थिति साम्य भएको छ ।

ढुंगा प्रहारबाट अर्घाखाँची डिभर्नाका प्रेम खड्का र किमडाँडाका मानबहादुर भुसाल सामान्य घाइते भएका छन । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।

बिहान प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा उर्जामन्त्री जनार्दन शर्माले पाँच नम्बर प्रदेश टुक्रिएपछि संभावित प्रदेश सदरमुकाम पोखरा पुग्न सुरुङ मार्ग बनाइदिने भनेदेखि नै स्थिति असहज बन्दै गएको थियो ।